Logo

१४ कात्तिक,वीरगञ्ज । जेन–जी आन्दोलनपछि पहिलो पटक वीरगञ्जमा जेन–जी महानगर समिति गठन गरिएको छ। भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोली लागी मृत्यु भएका वीरगञ्ज महानगरपालिका–१२ का २२ वर्षे असाहब आलमका परिवारलाई नेतृत्वमा राख्दै समितिको गठन गरिएको हो।

मृतक आलमका दाइ मुराद आलम ठकुराईको अध्यक्षतामा घाइतेसहितको युवा समिति गठन गरिएको समन्वय समितिका सदस्य सुधिर पटेलले जानकारी दिए। समितिको सह–संयोजकमा रियाजूल हक मियाँलाई जिम्मेवारी दिइएको छ।

समितिको सल्लाहकारहरूमा रञ्जित श्रीवास्तव, इन्जिनियर राहुल रौनियार, रोशन श्रेष्ठ, परवेज शेख, अरमान देवान, वशिम शेख र महादेव प्रसाद कुर्मी रहेका छन्।

त्यस्तै सदस्यहरूमा जयशंकर यादव, विरेन्द्र कण्ठ, सुधिर पटेल, रंदीप श्रीवास्तव, अमन आलम लगायत रहेका छन्।

जेन–जी आन्दोलन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धन सरकारको भ्रष्टाचारको विरोधस्वरूप सुरु भएको थियो। सामाजिक सञ्जालमार्फत व्यापक विरोध बढेपछि सरकारले सञ्जालहरू नै बन्द गर्ने निर्णय गरेपछि देशभरका युवाहरू सडकमा उत्रिएका थिए।

सोही क्रममा भदौ २३ गते भएको जेन–जी आन्दोलनमा २२ जना युवाको ज्यान गएको थियो। त्यसयता देशभर युवाहरूले नेतृत्वमा नयाँ पुस्ताको सहभागिताका लागि आवाज उठाइरहेका छन्।

वीरगञ्जमा गठन भएको यो समिति जेन–जीको पहिलो महानगर समिति भएको आयोजकहरूले जनाएका छन्।


सम्बन्धित समाचार