Logo

१२ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठी अन्तर्गत संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकन मा चितवनको भरतपुर अस्पताल ले सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ ।

नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले क्लिनिकल सेवा, नर्सिङ सेवा, संक्रमण नियन्त्रण र औषधि व्यवस्थापन लगायत ९० भन्दा बढी सूचकहरूमा उल्लेखनीय प्रगति गरेको जानकारी दिएका छन् । यस मूल्यांकनमा १३ वटा संघीय अस्पतालहरूलाई समेटिएको थियो ।

गुणस्तरीय सेवा प्रवाहमा बाँकेको भेरी अस्पताल ८३ अंक सहित दोस्रो स्थानमा रह्यो भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७९ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५ अंक प्राप्त गरेका छन् । राष्ट्रिय स्तरका प्रमुख अस्पतालहरूमध्ये वीर अस्पतालले ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६४, कोशी अस्पतालले ६३ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५९ अंक मात्र प्राप्त गरेका छन्, जसलाई डा। पौडेलले सुधारको क्रममा रहेको बताएका छन् ।

तर, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल र पाटनको मानसिक अस्पताल को अवस्था भने निकै कमजोर देखिएको छ । गजेन्द्रनारायण सिंह अस्पतालले जम्मा ३६ प्रतिशत र मानसिक अस्पतालले केवल ३२ प्रतिशत मात्र मापदण्ड पूरा गरेका छन् । मन्त्रालयले कम अंक ल्याउने अस्पतालहरूलाई तत्काल सुधार योजना पेश गर्न निर्देशन दिँदै समग्रमा स्वास्थ्य प्रणालीले नागरिकलाई गुणस्तरीय सेवा दिन नसकेको निष्कर्ष निकालेको छ ।


सम्बन्धित समाचार