१५ मंसिर, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाबाट विज्ञापन करको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र नगर प्रहरीले सिजी कम्पनीका कर्मचारीमाथि हातपात तथा मेलाको ब्यानर तोडफोड गरेको घटना बाहिरिएको छ।
यो घटनापछि वीरगञ्जको व्यापारिक वातावरण खलबलिएको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघ ले महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएको छ।
हातपात र अपशब्द प्रयोग गरिएको घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा समेत भाइरल भएको छ।
के हो घटना ?
सिजी कम्पनीको वीरगञ्ज एजेन्सीले मंसिर ८ गतेदेखि १५ गतेसम्मका लागि जिल्ला प्रहरी कार्यालय अगाडिको लालबङ्गलाको खाली जग्गामा “हिरो एक्सेन्ज मेला” आयोजना गर्न महानगरपालिकाबाट विधिवत् अनुमति लिएको थियो।
ठेकेदार कम्पनीले मेला अवधिको विज्ञापन कर नपाएको भन्दै विराटनगरको आकृती एड्भटाईजिङ कम्पनी का वीरगञ्ज प्रतिनिधि रन्जन यादव ले नगर प्रहरी प्रयोग गरेर सिजीका कर्मचारीमाथि हातपात गरेको कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।
सिजी कम्पनीका एरिया सेल्स मेनेजर विकास कुमार लाई रन्जन यादव र नगर प्रहरीले अपशब्द प्रयोग गर्दै हातपात गरेको कम्पनीको भनाइ छ। मेलाका कर्मचारी परवेज अंसारीले नगर प्रहरीलाई गलत सूचना दिएर विज्ञापन एजेन्सीका प्रतिनिधिले कुटपिट गर्न लगाएको आरोप लगाएका छन्।
ठेकेदारको दादागिरी र व्यवसायीको आक्रोश
पीडित सिजी कम्पनीका प्रतिनिधि विकास कुमारले कर तिर्छौँ भन्दाभन्दै जबरजस्ती तोडफोड र हातपातमा उत्रिएको बताएका छन्। नेपालका प्रमुख सहरहरूमा विज्ञापनको ठेक्का लिएको आकृती एड्भटाईजिङ्गका सञ्चालक मनोज चौहान ले विभिन्न सहरमा दादागिरी शैलीका मान्छे नियुक्त गरेर व्यवसायीलाई दुःख दिने गरेको सिजी कम्पनीका प्रतिनिधिको भनाई छ।
यता, आकृती एड्भटाईजिङ कम्पनीका वीरगञ्ज प्रतिनिधि रन्जन यादवले भने सिजी कम्पनीका कर्मचारीले मेला अवधिको कर नदिएपछि नगर प्रहरी गुहार्नु परेको स्वीकार गरेका छन्। उनले नगर प्रहरीलाई समेत सिजीका कर्मचारीले अपशब्द प्रयोग गरेपछि हात हालाहालको स्थिति आएको दावी गरेका छन्।
व्यवसायीहरूले वीरगञ्ज महानगरपालिकाबाट ठेक्का पाएको आकृती एड्भटाईजिङ्गले दादागिरीको भरमा कर उठाउने गरेको गुनासो गरेका छन्। व्यापार व्यवसायमा मन्दी लागेको समयमा स्थानीय सरकार व्यापार प्रवर्द्धनका लागि सहयोगी बन्नुको साटो उल्टै ठेकेदारको पक्षमा लाग्दा व्यवसायिक वातावरण बिग्रिएको उनीहरूको भनाइ छ।
विरोध र महानगरको प्रतिबद्धता
घटनाको विरोध गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरूको टोलीले सोमबार वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम लाई भेट गरी ध्यानाकर्षण गराएको छ।
संघका वरिष्ठ उपाध्यक्षले उपप्रमुख आलमले घटनाको छानबिन गरी दोषीमाथि अविलम्ब कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।

















