१५ पौष, काठमाडौँ । आज पौष शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशी मनाइँदैछ । एकादशी माहात्म्यअनुसार यस दिन विधिपूर्वक व्रत र भगवान् विष्णुको पूजा–आराधना गरे सन्तानप्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । यही कारणले विशेषगरी सन्तान चाहने दम्पतीले यो एकादशीलाई ठूलो आस्थाका साथ मनाउने गर्दछन् ।
एकादशी भगवान् विष्णु वा नारायणसँग सम्बन्धित महत्वपूर्ण वैदिक पर्व हो । वैदिक सनातन धर्ममा अष्टमी, पूर्णिमा र औँसीजस्ता तिथिहरूलाई विशेष महत्व दिइँदै आए पनि वैष्णव सम्प्रदायको प्रभाव बढ्दै जाँदा एकादशीको महत्व पनि समाजमा क्रमशः बढ्दै गएको जानकारहरू बताउँछन् ।
परम्पराअनुसार एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक मात्र भोजन गर्ने र दुई दल भएका वस्तु जस्तै केराउ, चना, सिमी आदिको सेवन नगर्ने चलन छ । वैष्णव धर्म नअपनाएका श्रद्धालुहरूले समेत यस दिन मांसाहार त्याग्ने गरेको पाइन्छ। एकादशीमा विशेषगरी भगवान् विष्णुको पूजा, व्रत बस्ने, एकादशी माहात्म्य पाठ गर्ने जस्ता धार्मिक कर्म गरिन्छ ।
एकादशी हरेक महिनामा दुई पटक ‘शुक्ल पक्ष र कृष्ण पक्षमा’ पर्ने भएकाले वर्षमा जम्मा २४ वटा एकादशी हुन्छन् । अधिकमास परेको वर्ष भने दुई वटा एकादशी थपिन्छन् । सामान्यतया मार्गशीर्ष (मंसिर) कृष्ण पक्षको एकादशीलाई पहिलो र कार्तिक शुक्ल एकादशीलाई अन्तिम एकादशीका रूपमा लिने परम्परा छ ।
विभिन्न पुराणहरूमा एकादशीको उत्पत्ति, यसको महत्व तथा व्रतको फलका बारेमा विस्तृत वर्णन गरिएको छ । एकादशी माहात्म्यमा यस दिन गर्न हुने र नहुने कर्मका विषयमा समेत उल्लेख गरिएको छ । धार्मिक आस्थाअनुसार नियमपूर्वक व्रत र पूजा गरे पुण्य प्राप्ति, मनोकामना पूरा हुने तथा आध्यात्मिक शुद्धता प्राप्त हुने विश्वास गरिन्छ ।














