१० मांघ,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई दुःख दिने र अपमान गर्ने काम गरिरहेको आरोप लगाएका छन्।
गृहजिल्ला झापाबाट हिजो काठमाडौं फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तै व्यवहार गरिएको भन्दै अध्यक्ष ओलीले गुनासो गरेका हुन्। पार्टी मुख्यालय च्यासलमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले विमानस्थलमा अपमानजनक व्यवहार भएको बताए।
अध्यक्ष ओलीले विमानस्थलमा ‘माथिबाट आदेश आएको छ’ भन्दै अनावश्यक जाँच गरिएको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “अस्ति झापा जाँदा एयरपोर्टमा राम्रो व्यवहार भएको थियो। हिजो फर्केर आउँदा भने के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरियो। हैरान पारियो। किन यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ भन्छन्। अहिले देशमा बेथिति र अन्याय बढ्दै गएको छ।”
उनले सरकारले प्रतिशोधपूर्ण ढंगले आफूहरूलाई दुःख दिने र अपमान गर्ने काममा लागेको आरोपसमेत लगाए।
अध्यक्ष ओलीले देशलाई पुनः सही बाटोमा अघि बढाउन नेकपा (एमाले) ले सरकार बनाउनुको विकल्प नभएको दाबी गरे। उनले वर्तमान सरकारको कार्यशैलीले मुलुकलाई झनै संकटतर्फ धकेलिरहेको टिप्पणी गरे।
















