Logo

१० फागुन, बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा बारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र ठूलो पहिरो गएको छ । पार्टीको उम्मेदवार चयन प्रक्रिया अपारदर्शी भएको र ‘टिकट’ को नाममा मोटो रकम असुली गरिएको गम्भीर आरोप लगाउँदै जिल्लाका प्रभावशाली नेताहरूले सामूहिक रूपमा ‘घण्टी’ बजाउन छोडेका हुन् ।

रास्वपा बाराका जिल्ला संगठन विभाग प्रमुख पवन चौधरी, कलैया उपमहानगरपालिकाका नगर सभापति सञ्जिव यादव र देवताल गाउँपालिका सभापति कमरुद्धिन मियाँले शुक्रबार सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गरेपछि पार्टीभित्रको आन्तरिक कलह सतहमा आएको हो ।

राजीनामा दिने नेताहरूका अनुसार पार्टीले उम्मेदवारी दिन इच्छुकहरूलाई अनलाइन फाराम भर्न लगाएर आर्थिक शोषण गरेको छ । कलैया नगर सभापति सञ्जिव यादवले उम्मेदवारी दर्ताका क्रममा प्रत्यक्षतर्फका आकांक्षीबाट २५ हजार र समानुपातिकतर्फका बाट ५० हजार रुपैयाँ संकलन गरिएको खुलासा गरे ।

“रकम बुझाएर फाराम भरेका ५०औँ आकांक्षी र संगठनमा रातदिन खटिएका स्थानीय नेताहरूलाई पूर्ण रूपमा उपेक्षा गरियो,” यादवले आक्रोश पोख्दै भने, “हामीले बुझाएको रकम तत्काल फिर्ता हुनुपर्छ, यो नीति र कार्यशैली स्वीकार्य छैन।”

जिल्ला संगठन विभाग प्रमुख पवन चौधरी, जो २०७९ को निर्वाचनमा बारा-४ बाट रास्वपाको तर्फबाट मधेश प्रदेशमै सर्वाधिक ३ हजार ८ सय ८४ मत ल्याउने उम्मेदवार थिए, उनले पनि पार्टीको मूल्यांकन पद्धतिप्रति असन्तुष्टि जनाउँदै राजीनामा बुझाएका छन् । यसपटक पनि उम्मेदवारका बलिया आकांक्षी रहेका चौधरीलाई पाखा लगाइएपछि जिल्लाभरका कार्यकर्तामा निराशा छाएको छ । देवताल सभापति कमरुद्धिन मियाँले पनि संगठनमा सक्रिय व्यक्तिहरूको उचित मूल्यांकन नभएको भन्दै पार्टीको नीतिको कडा आलोचना गरेका छन् ।

बारामा रास्वपा छाड्नेको लर्को नै लागेको छ । यसअघि बारा-२ की संस्थापक ममता शर्मा, क्षेत्र नं. ३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नं. ४ का उपसभापति दिलीप पण्डित, परवानीपुरका सभापति मनोज साह र गढीमाईका सचिव प्रदीप गुप्ताले समेत पार्टी परित्याग गरिसकेका छन् ।

जिल्ला सभापति चन्दन स्वर्णकारले जिम्मेवार नेताहरूको राजीनामाले आगामी निर्वाचनमा पार्टीलाई ठूलो क्षति पुग्ने चिन्ता व्यक्त गरेका छन् । उनले भने, “जिल्ला संगठन प्रमुख र पालिका सभापतिहरूले एकैपटक पार्टी छाड्नुले निर्वाचनमा असर पार्छ। केन्द्रीय नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ।”

रास्वपाले बाराका ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार त तोकेको छ, तर आफ्नै घरभित्रको ‘आगो’ निभाउन नसक्दा चुनावको नतिजा कस्तो आउने हो भन्नेमा अन्योल बढेको छ ।

रास्वपाले यसपटक बारा-१ मा गणेश धिमाल, बारा-२ मा चन्दन सिंह, बारा-३ मा अरविन्द सिंह र बारा-४ मा रहबर अन्सारीलाई चुनावी मैदानमा उतारेको छ ।


सम्बन्धित समाचार