१३ फागुन, काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारमा बाधा पुर्याउने जोकोहीलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । उम्मेदवार वा राजनीतिक दलको चुनावी अभियानलाई बिथोल्ने, अवरोध गर्ने वा थुनछेक गर्ने कार्य गरेमा दुई लाख रुपैयाँ जरिवानादेखि तीन वर्षसम्म कैद सजाय हुन सक्ने आयोगले स्पष्ट पारेको छ ।
विभिन्न स्थानमा राजनीतिक दल र उम्मेदवारका कार्यक्रमहरूमा अवरोध सिर्जना भएको गुनासो र उजुरी प्राप्त भएपछि आयोगले यस्तो ध्यानाकर्षण गराएको हो ।
निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार निर्वाचनको प्रक्रियामा कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले कुनै पनि प्रकारको अवरोध सिर्जना गर्न पाइँदैन । यस्तो कार्यमा संलग्न व्यक्ति वा समूहलाई कानुनी कारबाहीको व्यवस्था गरिएको छ । आयोगका अनुसार निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने वा पुर्याउन लगाउने व्यक्तिलाई अधिकतम दुई लाख रुपैयाँसम्म आर्थिक जरिवाना हुन सक्ने प्रावधान रहेको छ । त्यस्तै, कसुरको प्रकृति र गम्भीरता हेरी तीन वर्षसम्म कैद सजाय वा जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था पनि ऐनमा गरिएको छ । साथै निर्वाचन आचारसंहिता बमोजिम कुनै पनि राजनीतिक दल वा त्यसका भातृ सङ्गठनले आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा वा भेला बिथोल्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ ।
आयोगले हाल विभिन्न सञ्चारमाध्यम र आफ्नै संयन्त्रमार्फत चुनावी प्रचारप्रसारको सूक्ष्म अनुगमन गरिरहेको जनाएको छ। केही स्थानमा उम्मेदवारहरूलाई लक्षित गरी भएका अभद्र व्यवहार र अवरोधका घटनाप्रति आयोगले गम्भीर चासो व्यक्त गरेको छ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउनु सबैको साझा दायित्व हो। कसैको प्रचारप्रसारको अधिकारलाई कुण्ठित गर्ने गरी गरिने कार्य लोकतन्त्र विरोधी हुन्, जसमा आयोगले शून्य सहनशीलता अपनाउनेछ।”
आगामी निर्वाचनलाई मर्यादित बनाउन आयोगले राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र आम मतदातालाई जिम्मेवार बन्न अपिल गरेको छ। कसैले कानुनविपरीतका गतिविधि गरेमा तत्काल सुरक्षा निकाय वा आयोगमा जानकारी गराउन समेत आग्रह गरिएको छ।
मौन अवधि र मतदानको समय नजिकिँदै गर्दा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको र आचारसंहिता उल्लङ्घन गर्नेउपर तत्काल कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

















