प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फागुन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा नेकपा एमालेभित्रको आन्तरिक कलह अन्ततः विस्फोट भएको छ। पार्टीको नगर कमिटीमा लामो समयदेखि देखिएको मतभेद सतहमा आएसँगै नगर उप-सचिव मुस्तुफा आलमसहित विभिन्न तहका नौ जना जिम्मेवार नेताहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्। यसरी सामूहिक रूपमा पार्टी छाड्नेहरूमा नगर कमिटीका पदाधिकारीदेखि जनवर्गीय संगठनका नेतृत्वसम्म रहेका छन्, जसले गर्दा पोखरियामा एमालेको सांगठनिक संरचनामा ठूलो धक्का पुगेको छ।

पार्टी छाड्नेहरूमा नगर उप-सचिव मुस्तुफा आलम, वडा नम्बर ९ का वडा कमिटी अध्यक्ष धर्मेन्द्र पटेल, नगर कमिटीकी महिला उप-सचिव सुदामा देवी र नगर सदस्य बलिराम मुखिया रहेका छन् । त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल पोखरिया कमिटीका उपाध्यक्ष रामनरेश मुखिया, सदस्यहरू विकास मिश्र, बृजकिशोर राउत कुर्मी, सिकेन्द्र राम र उर्मिला देवीले पनि संयुक्त विज्ञप्ति जारी गर्दै एमालेसँगको आबद्धता अन्त्य भएको जानकारी दिएका हुन् । उनीहरूले जिल्ला र नगर नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै अब पार्टीमा बसिरहन सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

विशेष गरी विश्वम्भर शर्माको नेतृत्व र कार्यशैलीलाई लिएर असन्तुष्ट पक्षले कडा प्रहार गरेको छ। जारी विज्ञप्तिमा जिल्ला नेतृत्वले इमानदार कार्यकर्ताको भावनालाई पूर्णतः बेवास्ता गरेको, पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई धराशायी बनाएको र निर्णय प्रक्रियामा पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाइएको छ। नेतृत्वको एकलौटी निर्णय र गुटगत राजनीतिका कारण पार्टीभित्र निसासिने वातावरण बनेको भन्दै उनीहरूले स्थानीय तहमा संगठनलाई बलियो बनाउनुको साटो नेतृत्वले आफ्नै कार्यकर्तालाई पाखा लगाउने काम गरेको दाबी गरेका छन् ।

यो घटनाले पर्सामा एमालेको भविष्य र सांगठनिक पकडमाथि गम्भीर प्रश्न उठाइदिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार स्थानीय तहमा पकड भएका नेताहरूको यो बहिर्गमनले आगामी निर्वाचनमा एमालेलाई ठूलो क्षति पुर्‍याउन सक्छ । कार्यकर्ताको ठूलो पंक्ति असन्तुष्ट रहँदा पनि नेतृत्वले समयमै व्यवस्थापन गर्न नसक्नुलाई एमालेको कमजोरीका रूपमा हेरिएको छ। पोखरियाको यो विद्रोहले जिल्लाका अन्य क्षेत्रमा रहेका असन्तुष्ट समूहलाई पनि उत्साहित बनाउन सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार