१५ फागुन, वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय पर्साले आज शुक्रबारदेखि जिल्लाभर मदिरा निषेध गरेको छ । निर्वाचनको अन्तिम परिणाम घोषणा नहुन्जेलसम्मका लागि मदिराको उत्पादन, बिक्री-वितरण र सेवनमा पूर्ण रोक लगाइएको हो ।
मदिरा सेवनका कारण शान्ति सुरक्षामा खलल पुग्न सक्ने र निर्वाचनको समग्र वातावरण प्रभावित हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यो कठोर निर्णय लिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलका अनुसार गृह मन्त्रालयको निर्देशन र निर्वाचन आयोगको मापदण्ड बमोजिम जिल्ला सुरक्षा समितिले यो निर्णय गरेको हो । निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त राख्न मदिरा नियन्त्रण अनिवार्य देखिएको प्रशासनको ठहर छ ।
“निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउनु हाम्रो मुख्य प्राथमिकता हो । त्यसैले आजदेखि नै लागू हुने गरी मदिराजन्य पदार्थको कारोबार र सेवनमा पूर्ण प्रतिबन्ध लगाएका छौँ,” सहायक प्रजिअ पोखरेलले भने, “यो नियम चुनावी परिणाम सार्वजनिक नभएसम्म जारी रहनेछ।”
प्रशासनले जिल्लास्थित सबै होटल, रेस्टुरेन्ट, पसल तथा भट्टीहरूमा मदिराजन्य पदार्थको कारोबार नगर्न र नगराउन विशेष निर्देशन जारी गरेको छ। सूचनाको अवज्ञा गरी मदिरा बिक्री वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
प्रशासनले जारी गरेको निर्देशनअनुसार उक्त अवधिभर मदिराको उत्पादन, ढुवानी, बिक्री तथा सेवन गर्न पाइने छैन। आदेश उल्लङ्घन गर्ने व्यक्ति वा समूहलाई कानुनी कारबाही गरिने जनाइएको छ, जसअन्तर्गत नियम मिच्नेलाई हिरासतमा राख्ने तथा जरिवाना लगाउने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायले विशेष निगरानी बढाएको छ। जिल्ला प्रशासनले सबै व्यवसायी र सर्वसाधारणलाई निर्वाचनलाई शान्तिपूर्ण बनाउने यस अभियानमा सहयोग गर्न अपिल समेत गरेको छ। सीमावर्ती क्षेत्रमा समेत अवैध मदिराको ओसारपसार रोक्न सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ मा राखिएको जनाइएको छ।

















