१९ फागुन, वीरगञ्ज । पहाडी भेगमा हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको भोलिपल्ट आज तराईमधेसका जिल्लाहरूमा रङ्ग र उमङ्गको पर्व होली विशेष उत्साहका साथ मनाइँदै छ। मिथिलाको ऐतिहासिक सांस्कृतिक पदयात्रा ‘अन्तरगृह परिक्रमा’ को समापनसँगै जनकपुरधाम लगायत मधेसका विभिन्न जिल्लाहरूमा ‘जोगिरा सरररर’ को गुञ्जन, ढोलक र मजीराको तालले होलीको विशेष रौनक छाएको छ।
यद्यपि, यस वर्षको होलीमा सांस्कृतिक रौनकसँगै विशेष सुरक्षा सावधानी र प्रशासनिक कडाइ पनि थपिएको छ। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मौन अवधि र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले होली लक्षित सार्वजनिक कार्यक्रमहरूमा कडाइ गरेको हो। निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै भीडभाड हुने ठुला सांगीतिक कार्यक्रम, शक्ति प्रदर्शनका रूपमा गरिने भेला र ठुलो स्वरमा बज्ने ‘डिजे साउण्ड’ प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचनको मुखमा हुन लागेको यो पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन र राजनीतिक आचारसंहिताको पूर्ण पालना गराउन विशेष सुरक्षा टोली परिचालन गरिएको छ। प्रशासनले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाउनुका साथै दुई पांग्रे सवारीमा हुने हुलहुज्जत र होहल्ला गर्नेहरूमाथि ‘शून्य सहनशीलता’ को नीति अपनाएको छ।
सांस्कृतिक रूपमा निकै समृद्ध मानिने तराईको होलीमा परम्परागत नटुवा नृत्य र जोगिरा गाउने मौलिक चलन भए पनि यस पटक भने निर्वाचनको शान्ति सुरक्षालाई नै सर्वोच्च प्राथमिकतामा राखिएको छ। प्रशासनले सम्पूर्ण मतदाताहरूलाई रङ्ग र भाइचाराको यो पर्व सभ्य रूपमा मनाउन र चुनावी मर्यादाको पालना गर्न विशेष अपिल गरेको छ। अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने यो महान पर्वले तराई, पहाड र हिमाललाई सद्भावको साझा सूत्रमा बाँध्ने विश्वास गरिएको छ।




















