२० फागुन, वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले वीरगञ्जमा सञ्चालन गरेको विशेष ‘सर्च अभियान’का क्रममा विस्फोटक पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले गरिएको अपरेशनका क्रममा धार्मिक सद्भाव भड्काउने प्रयासमा रहेका व्यक्तिहरूलाई सेनाले नियन्त्रणमा लिएको हो ।
गएराति करिब २ बजे श्रीजंग गण वीरगञ्जको नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, इनर्वा क्षेत्रमा विशेष सर्च अपरेशन चलाइएको थियो । सो क्रममा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा स्थानीय कृष्ण यादव, रोहित पटेल र अवजित यादवलाई नियन्त्रणमा लिइएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिए । उनीहरूको साथबाट ९ थान सुतली बम, ५ वटा सेतो रङको तार, २ थान मोबाइल, पावर बैंक र चार्जर बरामद गरिएको छ। साथै, साम्प्रदायिक दङ्गा फैलाउने नियतले राखिएको सुँगुरको टाउको समेत फेला परेको सेनाले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरूले निर्वाचनको मुखमा धार्मिक द्वन्द्व सिर्जना गरी सुरक्षा व्यवस्थालाई चुनौती दिने र मतदान प्रक्रिया प्रभावित पार्ने योजना बनाएको देखिएको प्रहरीले जनाएको छ ।
उपसेनानी मरहठ्ठाले निर्वाचनको समयमा कुनै पनि प्रकारको साम्प्रदायिक वा अराजक गतिविधि हुन नदिन सेना पूर्ण रूपमा सतर्क र सक्रिय रहेको बताएका छन् । बरामद सामग्रीसहित पक्राउ परेका तीनै जनालाई थप कानुनी कारबाही र गहन अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ ।

















