प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन, काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहीबार देशभर एकैसाथ मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

यस निर्वाचनमार्फत प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभा चयन हुनेछ । प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् भने समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको नामावली प्रतिस्पर्धामा छ । आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले आज आफ्नो मताधिकार प्रयोग गर्दैछन्, जसमा पुरुषको संख्या ९६ लाख ६३ हजारभन्दा बढी र महिलाको संख्या ९२ लाख ४० हजारभन्दा बढी रहेको छ ।

आयोगले मतदानलाई सहज बनाउन देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्रको व्यवस्था गरेको छ । साथै, कैदीबन्दी र कर्मचारीका लागि १४३ अस्थायी मतदान केन्द्र समेत तोकिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलालाई लाइनमा नबसी प्राथमिकताका साथ मतदान गर्ने विशेष व्यवस्था मिलाइएको छ ।

आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएका वा नभएकाहरूको हकमा लचकता अपनाएको छ । त्यस्ता मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कलप्रति देखाएर पनि मतदान गर्न पाउने सूचना अधिकारीले जानकारी दिएका छन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले ‘मजबुत’ सुरक्षा योजना लागू गरेको छ । सुरक्षाका लागि ७९ हजार नेपाली सेना, ७५ हजार नेपाल प्रहरी, ३४ हजार सशस्त्र प्रहरी र करिब १ लाख ५० हजार म्यादी प्रहरीसहितको एकीकृत फौज परिचालन गरिएको छ। मतदान कार्य सम्पन्न गराउन २ लाख १५ हजार कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।

आयोगले सम्पूर्ण मतदातालाई आफ्नो अमूल्य मत निर्धक्क भएर प्रयोग गर्न र लोकतन्त्रलाई बलियो बनाउन अपिल गरेको छ। आज मतदान कार्य सकिए लगत्तै मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरी गणना प्रक्रिया सुरु गरिने तयारी छ ।


सम्बन्धित समाचार