२५ फाल्गथुण, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ धकेलिँदै गर्दा राजनीतिक दलहरूको प्राप्त मतको चित्र थप प्रष्ट हुँदै गएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ८५ लाख ५७ हजार २५३ मत गणना भइसकेको छ । यस परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वर्चस्वलाई कायमै राख्दै ४१ लाख ३३ हजार ३२६ मतका साथ अग्रता लिइरहेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ८६ हजार ३७२ र नेकपा एमालेले ११ लाख ६९ हजार ५१७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ६ हजार ७१० मत ल्याएर राष्ट्रिय दलको रूपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
यसपटकको निर्वाचनमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी (माटो) ले पनि थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । आयोगको तथ्याङ्कअनुसार २ लाख ९९ हजार १७४ मत प्राप्त गर्दै साम्पाङको पार्टीले राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको रूपमा उदय हुने संकेत देखाएको हो । कूल सदर मतको ३ प्रतिशत ल्याउनुपर्ने कानुनी व्यवस्थाका कारण यसपटक धेरै साना दलहरूलाई ‘थ्रेसहोल्ड’ पार गर्न सकस भइरहेको अवस्थामा श्रम संस्कृति पार्टीले भने आफ्नो सिट सुरक्षित गर्ने देखिएको छ ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने राष्ट्रिय दल बन्नका लागि अन्तिम संघर्ष गरिरहेको छ । हालसम्म २ लाख ८१ हजार २१६ मत प्राप्त गरेको राप्रपा छैटौँ स्थानमा रहेको छ। थ्रेसहोल्ड पार गर्न आवश्यक पर्ने न्यूनतम मतका लागि राप्रपाले अझै केही मतको प्रतिक्षा गर्नुपर्ने देखिन्छ । गणना बाँकी रहेका क्षेत्रहरूबाट आउने परिणामले राप्रपाको भविष्य निर्धारण गर्नेछ । आयोगले फागुन २७ गतेसम्म समानुपातिकतर्फको सम्पूर्ण गणना सकेर दलहरूले पाउने सिट संख्याको टुङ्गो लगाउने लक्ष्य राखेको छ ।

















