Logo

२५ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ तीनवटा निर्वाचन क्षेत्रमा सानदार जित हासिल गरेको हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक निर्वाचन प्रणालीमा पनि बलियो उपस्थिति जनाएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार यस पार्टीले समानुपातिकतर्फ ३ लाख ४ हजार ३६६ मत प्राप्त गर्दै राष्ट्रिय राजनीतिको मुख्य धारमा आफ्नो स्थान सुरक्षित गरेको हो । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको यो दलले प्रत्यक्षतर्फको सफलतासँगै समानुपातिकमा पनि ३ लाखको आँकडा पार गरेपछि राष्ट्रिय पार्टी बन्ने र संसद्मा आफ्नो प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने देखिएको छ ।

आयोगको विवरणअनुसार समानुपातिकतर्फ प्राप्त मतका आधारमा श्रम संस्कृति पार्टी अहिले नेपाली कम्युनिस्ट पार्टीभन्दा पछि पाँचौँ स्थानमा रहेको छ। मतगणनाको अग्रस्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को वर्चस्व कायमै छ । प्रत्यक्षतर्फ १२४ सिट जितेर ऐतिहासिक सफलता पाएको रास्वपाले समानुपातिकतर्फ ४१ लाख ६५ हजारभन्दा बढी मत प्राप्त गरिसकेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ९२ हजार र तेस्रो स्थानमा रहेको नेकपा एमालेले ११ लाख ७६ हजारभन्दा बढी मत पाएका छन् ।

मतगणनाको पछिल्लो रुझानमा अन्य दलहरूबीच पनि रोचक प्रतिस्पर्धा देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ८२ हजारभन्दा बढी मत प्राप्त गरी थ्रेसहोल्ड पार गर्ने सङ्घर्षलाई जारी राखेको छ भने जनता समाजवादी पार्टी (जसपा) ले १ लाख ३२ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (रापपा) ले १ लाख २६ हजार मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीले समानुपातिकमा देखाएको यो नतिजाले स्थानीय मुद्दा र श्रमको राजनीति गर्ने शक्तिहरूप्रति मतदाताको आकर्षण बढेको पुष्टि गरेको छ ।


सम्बन्धित समाचार