Logo

२५ फाल्गुण, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको नतिजालाई लिएर पार्टीको विद्यमान नीति र नेतृत्वमाथि गम्भीर प्रश्न उठाउनुभएको छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइरहँदा एमालेले बेहोरेको अप्रत्याशित हारलाई लिएर भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै आफ्नो धारणा राख्दै जनताले पार्टीको हालको दिशा र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृत गरेको स्वीकार गर्नुभएको हो । उहाँले यसलाई आजको तीतो वस्तुगत यथार्थ भन्दै अब पार्टीभित्र सर्वाङ्गीण रूपान्तरण र जनसमर्थन पुनः आर्जनका लागि नयाँ बाटो लिनुपर्नेमा जोड दिनुभएको छ ।

उपमहासचिव भट्टराईले विगतमा अर्थात् २०८१ भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रमपछि पार्टीले अख्तियार गरेका कतिपय नीतिप्रति आफूले असहमति राख्दै आएको स्मरणसमेत गराउनुभएको छ। पार्टीका औपचारिक बैठक र महाधिवेशनमा ती विषयहरू अल्पमतमा परेर अस्वीकृत भए पनि वर्तमान चुनावी नतिजाले ती बहसहरू पुनः सान्दर्भिक भएको उहाँको तर्क छ। भट्टराईले एमाले अहिलेका लागि केवल ढलेको तर समाप्त नभएको उल्लेख गर्दै सही नीति, संगठन, नेतृत्व र कार्यशैलीमार्फत पार्टीलाई फेरि उठाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भट्टराईले आत्मभर्त्सनाको साटो गम्भीर आत्मसमीक्षाको बाटो रोज्न अपिल गर्नुभएको छ । उहाँले संयम र धैर्यताका साथ पार्टीको एकता जोगाउँदै सही मार्गमा अघि बढ्न सम्पूर्ण पंक्तिलाई आग्रह गर्नुभएको हो । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कले एमाले समानुपातिकतर्फ पनि तेस्रो स्थानमा खुम्चिएको देखाइरहेका बेला भट्टराईको यो अभिव्यक्तिले पार्टीभित्र नेतृत्व परिवर्तन र नीतिगत पुनर्गठनको बहसलाई थप तताउने संकेत गरेको छ ।


सम्बन्धित समाचार