Logo

२७ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जनमत हासिल गरेको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कुल १ करोड ७ लाख २० हजार ५६७ मत गणना भइसक्दा रास्वपाले झण्डै आधा हिस्सा अर्थात् ४७ प्रतिशतभन्दा बढी मत प्राप्त गरी शीर्ष स्थानमा आफ्नो पकड जमाएको छ । रास्वपाले हालसम्म ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ, जुन अन्य स्थापित दलहरूको तुलनामा निकै ठूलो अन्तर हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १४ लाख ४७ हजार ६६४ मतका साथ तेस्रो स्थानमा खुम्चिएको छ । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख २ हजार ७४३ मत पाउँदा नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार १९७ मतका साथ राष्ट्रिय दल बन्ने निश्चित गरेको छ । यो नतिजाले नेपाली राजनीतिमा परम्परागत शक्तिको तुलनामा नयाँ र वैकल्पिक सोच भएका दलहरूप्रति मतदाताको आकर्षण बढेको प्रष्ट देखाउँछ ।

निर्वाचनको यो प्रारम्भिक चित्रले आगामी संसदमा ६ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ । प्रत्यक्षतर्फको सिट र समानुपातिकमा ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनु पर्ने कानुनी प्रावधानका कारण यस पटक रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले मात्र राष्ट्रिय दलको हैसियत प्राप्त गर्नेछन् । अर्कोतर्फ, विगतमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका लागि भने यस पटकको निर्वाचन प्रत्युत्पादक बनेको छ ।

प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न नसकेका यी दुई दलले समानुपातिकतर्फ पनि ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने सम्भावना न्यून देखिएसँगै उनीहरूले राष्ट्रिय दलको हैसियत गुमाउने निश्चित भएको छ ।


सम्बन्धित समाचार