Logo

२३ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको डेपुटी गभर्नरको नियुक्ति प्रक्रिया अत्यन्तै पेचिलो बन्दै गएको छ। विशेषगरी बिचौलियाहरूको सक्रियता र सत्ता साझेदार दलहरूबीचको शक्ति सङ्घर्षका कारण केन्द्रीय बैंकको यो महत्त्वपूर्ण पदमा नियुक्ति हुन नसकेको बुझिएको छ।

वर्तमान सरकार गठन हुनुअघि नै डेपुटी गभर्नरको पद रिक्त भएको थियो। तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले नियुक्ति प्रक्रिया अघि बढाउन चाहे पनि नयाँ सरकार गठन हुने निश्चित भएपछि उनले कुनै ठोस कदम चाल्न सकेनन्। नयाँ सरकार बनेर मन्त्रिपरिषद्को तीनवटा बैठक बसिसक्दा पनि नियुक्तिको विषय अझै टुङ्गो लाग्न सकेको छैन।

श्रोतका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्ले र सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलबीच व्यक्तिको छनोटलाई लिएर कुरा नमिल्दा नियुक्तिमा ढिलाइ भएको हो। अर्थमन्त्री वाग्ले राष्ट्र बैंकलाई निष्पक्ष रूपमा हाँक्न सक्ने व्यावसायिक व्यक्तिको खोजीमा देखिन्छन् भने शिक्षामन्त्री पोखरेलमाथि अर्को पक्षलाई नियुक्त गर्न दबाब रहेको बुझिएको छ।

यस नियुक्तिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र एवं पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको प्रत्यक्ष चासो देखिएको छ। खतिवडाले आफ्ना ज्वाइँ डा. रामशरण खरेललाई डेपुटी गभर्नर बनाउन शिक्षामन्त्री पोखरेल र अन्य शक्ति केन्द्रमार्फत लबिइङ गरिरहेको स्रोतको दाबी छ।

खरेलको पृष्ठभूमि र विवाद

डा। रामशरण खरेललाई एमालेका कट्टर कार्यकर्ताका रूपमा चिनिन्छ। उनी विश्वविद्यालय तहका अब्बल विद्यार्थी भए पनि राष्ट्र बैंकको आन्तरिक प्रतिस्पर्धामा भने पटक(पटक असफल भएको बताइन्छ। दोस्रो श्रेणीको लिखित परीक्षामा तीन पटकसम्म अनुत्तीर्ण भएका खरेललाई ससुरा डा. खतिवडाको शक्ति प्रयोग गरेर फाइल बढुवा गरिएको आरोप राष्ट्र बैंकका कर्मचारीहरूको छ।

यसअघि खतिवडा अर्थमन्त्री हुँदा खरेललाई नियमविपरीत नामै किटान गरेर अर्थ मन्त्रालयको सल्लाहकार बनाइएको थियो। तर, भन्सार राजस्वसम्बन्धी गोप्य सूचना चुहाएको आरोप लागेपछि उनलाई कार्यकाल पूरा नहुँदै प्रधानमन्त्री कार्यालयले राष्ट्र बैंक फिर्ता पठाएको थियो। हाल गभर्नर महाप्रसाद अधिकारीको समयमा समेत निकै लाभ लिएका खरेललाई पुनः डेपुटी गभर्नर बनाउन एमाले वृत्त र नयाँ बिचौलियाहरू सक्रिय भएका छन्।

अर्कातर्फ, गभर्नर विश्वनाथ पौडेलले नेपाली कांग्रेसको कोटामा कार्यकारी निर्देशकहरू दीर्घबहादुर रावल वा गुरुप्रसाद पौडेलमध्ये एकलाई डेपुटी गभर्नर बनाउन चाहेको बुझिएको छ। रावललाई देउवा पत्नी आरजु राणाको सिफारिसमा कार्यकारी निर्देशक बनाइएको चर्चा हुने गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका विश्वासपात्र मानिने शिक्षामन्त्री पोखरेलले एमालेको दबाबलाई स्वीकार गर्दा अर्थमन्त्री वाग्ले भने दबाबमुक्त भएर योग्य व्यक्ति छान्न खोजिरहेका छन्।

नयाँ बिचौलियाको उदय

सरकारले यातायात कार्यालयदेखि अन्य क्षेत्रका बिचौलियाहरूलाई पक्राउ गरेर सुशासनको सन्देश दिइरहेका बेला राष्ट्र बैंकको नियुक्तिमा भने एक ुनयाँ बिचौलियाु को उदय भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। एक वाणिज्य बैंकका विभागीय प्रमुखले यस नियुक्तिका लागि तीव्र लबिइङ गरिरहेको र उनीमार्फत ठूलो आर्थिक चलखेल हुन सक्ने आशङ्का गरिएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) जस्ता वैदेशिक अवसरहरूमा समेत परिवारवाद र राजनीतिक पहुँचका आधारमा नियुक्ति हुने गरेको इतिहास दोहोर्‍याउँदै अहिले फेरि राष्ट्र बैंकको नेतृत्वमा राजनीतिक र पारिवारिक पहुँच हाबी हुन खोज्दा केन्द्रीय बैंकको स्वायत्ततामाथि नै प्रश्न उठेको छ।


सम्बन्धित समाचार