Logo

९ बैशाख, काठमाडौँ । चौतर्फी विवाद र आलोचनाको घेरामा परेका गृहमन्त्री सुधन गुरुङले अन्ततः पदबाट राजीनामा दिएका छन् ।

विवादास्पद व्यवसायी दीपक भट्टसँगको व्यवसायिक साझेदारी र सेयर लगानीका विषयमा नागरिक स्तरबाट गम्भीर प्रश्नहरू उठेपछि उनले नैतिकताको आधार देखाउँदै सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।

पछिल्लो समय सार्वजनिक भएका तथ्यहरूले मन्त्री गुरुङ र व्यवसायी भट्टबीच गहिरो आर्थिक सम्बन्ध रहेको देखाएको थियो, जसका कारण उनलाई पदमा बसिरहन नैतिक संकट आइपरेको थियो । खासगरी धितोपत्र बोर्डको अनुसन्धानमा व्यवसायी भट्ट र उनको समूहले बीमा कम्पनीहरूको अर्बौँ रुपैयाँ सेयर बजारमा चलखेल गरेको रहस्य खुलेपछि सोही समूहसँग नाम मुछिएका गृहमन्त्रीमाथि राजीनामा दिन दबाब बढेको थियो ।

मंगलबार राति अबेरसम्म सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका र आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग सिंहदरबारमा भेटवार्ता गरेका गुरुङले त्यसको केही समयपछि नै राजीनामाको घोषणा गरेका हुन् । नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै आफूले पद त्यागेको उनले बताएका छन् ।

सुशासनको नारा दिएर सरकारमा सामेल भएका मन्त्रीले नै विवादित व्यक्तिसँग साँठगाँठ गरेको विषय सार्वजनिक भएपछि यसले राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ ।


सम्बन्धित समाचार