Logo

९ वैशाख,वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपाल ले बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’मा विदेशी नागरिकहरूको सहभागिता रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयहरूलाई ध्यानाकर्षण गराएको छ।

परिषद्ले बुधबार बारापर्सा का जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै पत्र बुझाउँदै विशेषगरी तेस्रो मुलुकका नागरिकहरूको प्रवेश र सहभागितामा कडाइ गर्न आग्रह गरेको हो। पत्र सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाइएको जनाइएको छ।

आगामी वैशाख ११ देखि १४ गतेसम्म जितपुर–सिमरा उपमहानगरपालिका–२४, हरपुरमा आयोजना हुने इज्तिमामा पाकिस्तान, बंगलादेश लगायतका इस्लामिक मुलुकबाट सहभागीहरू आउने तयारी भएको सूचना प्राप्त भएको भन्दै परिषद्ले चिन्ता व्यक्त गरेको छ।

ध्यानाकर्षण पत्रमा धार्मिक भेलाको आवरणमा अवैध रूपमा विदेशी नागरिकहरू प्रवेश गर्ने र नेपालमै लुकिछिपी बस्न सक्ने जोखिम रहेको दाबी गरिएको छ। यस्ता गतिविधिले राष्ट्रिय सुरक्षा संयन्त्र कमजोर बनाउन सक्ने उल्लेख गर्दै प्रशासनलाई सतर्क रहन आग्रह गरिएको छ।

परिषद्ले विगतका अनुभवलाई उद्धृत गर्दै इज्तिमामा आएका विदेशी सहभागीहरू पूर्ण रूपमा फर्केर नजाने र कतिपय शरणार्थी वा अन्य बहानामा नेपालमै बस्ने सम्भावना रहेको आशंका व्यक्त गरेको छ। विशेषगरी रोहिङ्ग्या समुदायको सम्भावित प्रवेशप्रति पनि प्रशासनलाई सचेत हुन आग्रह गरिएको छ।

नेपाल–भारत सीमाको संवेदनशीलतालाई ध्यानमा राख्दै अवैध घुसपैठ रोक्न र साम्प्रदायिक सद्भाव कायम राख्न कडाइ गर्नुपर्ने माग गरिएको छ। साथै कार्यक्रमभित्र हुने गतिविधि र विदेशी सहभागीहरूको अवस्थाबारे पारदर्शी निगरानी आवश्यक रहेको परिषद्को भनाइ छ।


सम्बन्धित समाचार