९ वैशाख,वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साले कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ वार्षिकोत्सवका अवसरमा रामगढवास्थित मनमोहननगर पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभू हजराले पछिल्लो समय पार्टी विभिन्न चुनौती र आन्तरिक अन्तरविरोधबाट प्रभावित भएको स्वीकार गर्दै समिक्षा गरेर सुधारसहित अघि बढ्नुपर्नेमा जोड दिए। उनले संगठनलाई सुदृढ बनाउँदै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
अर्का केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वप्रमुख विजय कुमार सरावगीले पार्टीलाई जनताको समस्या र आवश्यकतासँग जोडेर अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। उनले जनताबाट टाढा रहेर कुनै पनि कम्युनिष्ट आन्दोलन सफल हुन नसक्ने बताए।
नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछानेले कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान राजनीतिक अवस्था र संगठन सुदृढीकरणका विषयमा आफ्ना धारणा राखे।
महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले एउटा चुनावी हारले एमालेजस्तो ऐतिहासिक पार्टी समाप्त नहुने उल्लेख गर्दै समयअनुसार नेतृत्व हस्तान्तरण र संगठनात्मक रुपान्तरण आवश्यक रहेको बताए। उनले केही सीमित नेताहरूले पार्टीलाई निजी कम्पनीझैँ सञ्चालन गर्ने प्रवृत्तिले संगठन कमजोर बनेको आरोप लगाए।
उनले “पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति नभई लाखौँ कार्यकर्ताको त्याग र बलिदानबाट बनेको संस्था हो” भन्ने धारणा समेत व्यक्त गरे।
जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मनोज कुशवाहाले सञ्चालन गरेका थिए। कार्यक्रममा मधेश प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव, नेता जालिम मियाँ, नगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अली, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान लगायत नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

















