९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–७ अन्तर्गत रेलबे रोड कुम्हालटोलस्थित पंचमुखी हनुमान मन्दिर परिसरमा ‘श्री श्री १०८ श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो महायज्ञ वैशाख ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।
महायज्ञको उद्घाटनका अवसरमा पहिलो दिन भव्य कलश यात्रा निकालिएको थियो। यज्ञ स्थलबाट सुरु भएको यात्रा नगरका विभिन्न भागहरूको परिक्रमा गर्दै घडिअर्वा पोखरीमा पुगेर जल संकलन गरिएको थियो। त्यसपछि पुनः नगर परिक्रमा गर्दै कलशहरू यज्ञ स्थलमा ल्याएर कार्यक्रम सम्पन्न गरिएको थियो।
कलश यात्रामा महिलाहरूले टाउकोमा कलश बोकेर भजन–कीर्तनसहित सहभागिता जनाएका थिए। स्थानीय बासिन्दा, श्रद्धालु तथा धर्मप्रेमीहरूको उल्लेख्य उपस्थितिले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको थियो।
आयोजक समितिका अनुसार महायज्ञ अवधिभर दैनिक रूपमा पूजा, हवन, श्रीराम कथा वाचन तथा विविध धार्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै, देशका विभिन्न स्थानबाट आएका पण्डित तथा वाचकहरूले कथा प्रवचन गर्ने कार्यक्रम पनि तय गरिएको छ।
महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको आयोजकले जनाएको छ। श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आह्वान समेत गरिएको छ।

















