१० बैशाख, काठमाडौं । धितोपत्र बजारमा ‘कृत्रिम माग’ सिर्जना गरी करोडौँको चलखेल गरेको गम्भीर आरोप लागेका उद्योगी शेखर गोल्छा यतिबेला प्रहरीको विशेष निगरानीमा परेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छा भैरहवा नाका हुँदै भारत पलायन हुन लागेको सूचना बाहिरिएपछि प्रहरीले उनीसँग ‘लोकेसन’ सोधखोज गर्दै तत्काल सम्पर्कमा रहन र अनुमतिविना उपत्यका नछाड्न निर्देशन दिएको हो ।
प्रहरीको सोधखोज र गोल्छाको दाबी
बिहीबार प्रहरीबाट फोन आएको कुरा स्वीकार गर्दै गोल्छाले आफू अनुसन्धानबाट नभाग्ने स्पष्ट पारेका छन् । ‘तपाईं कहाँ हुनुहुन्छ भनेर आज प्रहरीबाट फोन आएको थियो र आवश्यक पर्दा कार्यालयमा आउनुपर्छ भन्नुभएको छ,’ गोल्छाले भने, ‘मैले बोलाएको समयमा आउँछु भनेको छु, अनुसन्धानमा सहयोग नगर्ने कुरै हुँदैन। ‘तर, नाका नजिक पुगेको हल्लाले उनीमाथि शंकाको सुई भने तेर्सिएको छ ।
दीपक भट्टसँगको ‘कनेक्सन’ र ५२ करोडको कारोबार
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको ‘प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन २०८३’ ले शेयर बजारका खेलाडी मानिने दीपक भट्टलाई जालसाजीपूर्ण कारोबारमा सघाउन गोल्छाले वित्तीय लगानी गरेको सनसनीपूर्ण तथ्य उजागर गरेको छ ।
प्रतिवेदनका अनुसार, नेपाल रिइन्स्योरेन्सको शेयर मूल्यमा अस्वाभाविक वृद्धि गराई बजारलाई झुक्याउने कार्यमा गोल्छाको ठूलो रकम परिचालन भएको देखिएको छ । यस कारोबारमा संलग्न भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीले गोल्छालाई मात्रै ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी दिन बाँकी देखिएको छ, जसले चलखेलको आयतन कति विशाल थियो भन्ने प्रष्ट पार्छ ।
अध्यक्ष पदबाट सुटुक्क राजीनामा
यस जालसाजीको भित्री तथ्य बाहिरिन थालेपछि गोल्छाले गत फागुन २५ गते नै हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट सुटुक्क राजीनामा दिएका थिए, जसलाई चैत ५ को सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । शेयर मूल्य हेरफेर र ‘इन्साइडर ट्रेडिङ’ को यो हाई-प्रोफाइल प्रकरणमा राज्यका निकायहरूले कडाइ गरेपछि अहिले गोल्छामाथि कडा निगरानी बढाइएको हो ।
यो प्रकरणले आगामी दिनमा नेपालको शेयर बजारमा हुने ‘सेटिङ’ र ठूला व्यावसायिक घरानाको संलग्नतालाई थप उदाङ्गो पार्ने देखिएको छ ।

















