१० वैशाख,वीरगञ्ज । वीरगञ्जमा मेन रोड विस्तारसँगै व्यापारिक क्षेत्र प्रभावित हुँदा सटर अभावको समस्या गम्भीर बन्दै गएको छ। सडक डिभिजन कार्यालय हेटौंडा ले गत आइतबारदेखि मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटरभित्रका संरचना हटाउन थालेपछि ठूलो संख्यामा व्यवसायी विस्थापित भएका छन्।
यसका कारण नयाँ व्यवसाय सुरु गर्न चाहने मात्र होइन, लामो समयदेखि सञ्चालनमा रहेका व्यापारीहरू समेत सटर नपाउने समस्यामा परेका छन्। सटर पाइए पनि अत्यधिक भाडा तिर्नुपर्ने बाध्यता बढ्दै गएको छ। व्यापारीहरूका अनुसार घरधनीहरूले परिस्थितिको फाइदा उठाउँदै मनपरी रूपमा भाडा बढाइरहेका छन्, जसले साना तथा मझौला व्यवसायीहरूलाई थप आर्थिक दबाबमा पारेको छ।
यही अवस्थालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिका ले कडाइका साथ हस्तक्षेप गर्ने संकेत दिएको छ। महानगरका मेयर राजेशमान सिंह ले बजारमा देखिएको अनियमितता नियन्त्रण गर्न आवश्यक कदम चालिने जानकारी दिएका छन्।
‘विकासका नाममा भइरहेको संरचना हटाउने कामका कारण व्यवसायीहरूलाई असहज अवस्था सिर्जना भएको हामीले बुझेका छौं,’ उनले भने, ‘तर, यस्तो संवेदनशील समयमा केही घरधनीहरूले अनुचित रूपमा भाडा बढाउने, पुराना व्यवसायीलाई हटाएर बढी भाडा दिने नयाँ व्यक्तिलाई सटर दिने जस्ता गतिविधि स्वीकार्य हुँदैनन्।’
मेयर सिंहका अनुसार महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउनेछ। ‘यदि कुनै घरधनीले पुराना व्यवसायीलाई जबरजस्ती विस्थापित गरेको वा अस्वाभाविक रूपमा भाडा वृद्धि गरेको पाइएमा कानुनी कारबाही गरिनेछ,’ उनले चेतावनी दिए। आवश्यक परे जरिवाना, अनुमति रद्दजस्ता कडा कदमसमेत चाल्न सकिने उनले बताए।
महानगरले साना तथा मझौला व्यवसायीहरूको संरक्षणलाई प्राथमिकतामा राख्दै बजार सन्तुलन कायम गर्न, भाडा दर व्यवस्थित गर्न र विस्थापित व्यवसायीलाई सहजीकरण गर्न विशेष कार्ययोजना ल्याउने तयारी गरेको जनाएको छ।
यसैबीच, सटर अभावसँगै घर भाडामा समेत उल्लेख्य वृद्धि भएको छ। पहिले ८–१० हजार रुपैयाँमा पाइने कोठा अहिले १५–२० हजार रुपैयाँसम्म पुगेको स्थानीयहरूको भनाइ छ। भाडा निर्धारणको स्पष्ट मापदण्ड नहुँदा घरधनीहरूले मनपरी रूपमा दर बढाएको गुनासो बढ्दो छ।
वीरगन्ज–९, घण्टाघर चोक नजिकै विगत १२ वर्षदेखि मोबाइल पसल सञ्चालन गर्दै आएका एक व्यवसायीले सटर भाडा १० हजारबाट बढेर ३० हजारभन्दा माथि पुगेको बताए। ‘बिजुली, इन्टरनेट र अन्य खर्च जोड्दा महिनामा झन्डै ३५ हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा सानो व्यवसाय धान्न निकै गाह्रो भइरहेको छ।’
सडक विस्तारपछि उत्पन्न सटर अभाव र चर्को भाडाले वीरगन्जको व्यापारिक वातावरण झनै जटिल बन्दै गएको छ। महानगरको हस्तक्षेपले बजारलाई कति व्यवस्थित बनाउँछ भन्नेमा व्यवसायीहरूको ध्यान केन्द्रित भएको छ।




















