Logo

११ वैशाख,काठमाडौं । दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ केन्द्रमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्य तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट गरी कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ।

उद्धार भएकामध्ये कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका छन्। मन्त्रालयले थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै नेपाल फर्काइने तयारी भइरहेको जनाएको छ।

थाइल्याण्ड र म्यानमारस्थित नेपाली दूतावासहरूले स्थानीय निकायसँग समन्वय गरी उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया जाने नेपालीको संख्या करिब २१ हजार पुगेको र तीमध्ये धेरै जना शंकास्पद ठगी केन्द्रमा संलग्न भएको हुनसक्ने आशंका मन्त्रालयले जनाएको छ।

हालै कम्बोडिया सरकारले विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा थप ९ जना नेपालीलाई पक्राउ गरेको छ। उनीहरूमध्ये ५ जनालाई सङ्गठित ठगीसम्बन्धी मुद्दामा अदालतमा पेस गरिने र बाँकी ४ जनालाई शरीर बन्धक, यातना तथा हिंसात्मक गतिविधिमा संलग्नताको आरोपमा अनुसन्धानका लागि थुनामा राखिएको जनाइएको छ। यससँगै कम्बोडियामा पक्राउ परेका नेपालीको संख्या १४ पुगेको छ।

यसैबीच परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीसम्बन्धी कानुन संशोधन र एकीकरणका लागि तयार पारिएको विधेयकको मस्यौदामाथि सरोकारवालासँग छलफल तीव्र बनाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले संविधानअनुसार गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजीलाई देश विकासमा उपयोग गर्ने उद्देश्यसहित छिट्टै विधेयक संसद्मा पेश गरिने बताएका छन्।

हालसम्म ५ हजारभन्दा बढी गैरआवासीय नेपालीले नागरिकता लिइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी पाँच दिनभित्र विधेयकको मस्यौदा परिमार्जन गरी अघि बढाउने तयारी गरेको छ।

वैदेशिक सम्बन्धलाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले उद्योग वाणिज्य तथा भौतिक पूर्वाधार मन्त्रालयसँग समेत अन्तर–निकाय समन्वयलाई सुदृढ बनाइरहेको छ।


सम्बन्धित समाचार