Logo

२३ असाेज काठमाडौं ।

महिला अधिकारकर्मी र विज्ञहरूले राज्य सञ्चालनमा महिलाको सहभागिता वृद्धि गर्न प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको ३३ प्रतिशत सहभागिताका लागि आवाज उठाउँदै आएका छन् ।

प्रत्यक्षतर्फ नै ३३ प्रतिशत महिला उम्मेदवार उठाउनु पर्ने आवाज पटक पटक उठे पनि प्रमुख दलले यस पटक समेत महिलालाई समानुपातिकमै सीमित गर्न खोजेका छन् । प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी दिएका महिलाको संख्या अत्यन्तै न्यून देखिएको छ ।

अहिले संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । प्रत्यक्ष निर्वाचनमा उम्मेदवार नै कम भएपछि समानुपातिकबाटै क्षतिपूर्ति गर्नुपर्ने भएको छ ।

सबैभन्दा ठूलो पार्टीको हैसियत पाएको नेकपा एमालेमा पनि यही हालत छ । आइतबार उम्मेदवारी मनोनयन गर्नेमा एमालेबाट जम्मा ११ जना महिला परेका छन् । एमालेले देशभर १६५ मध्ये १४५ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

यस पटक पनि एमालेले समानुपातिकबाट महिलाको कोरम पुर्‍याउँदैछ । यसले पार्टीभित्र उपयुक्त महिला नभएको हो वा महिला आफै प्रत्यक्षमा भिड्न हिम्मत नगरेका हुन वा पार्टीले विश्वास नगरेको हो भन्ने प्रश्न उठेको छ ।

एमालेबाटै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई टिकट दिँदा पनि उनले रुचि नदेखाएकोले महिला आफैले हिम्मत गर्दैनन् भन्नेहरूलाई बल पुगेको छ । यद्यपि उनले नयाँलाई मौका दिने भन्दै ब्याक भएकी हुन् ।

यी हुन् एमालेका महिला उम्मेदवार

भगवती चौधरी, सुनसरी ३

यस पटक एमालेले भगवती चौधरीलाई सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उठाएको छ । उनीसँग प्रतिस्पर्धा गर्दैछन् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार ।

चौधरीको गच्छदारसँग यो तेस्रो पटक प्रतिस्पर्धा हो । गच्छदारको भने २०४८ देखि लगातार सातौँ पटक उम्मेदवारी हो ।

चौधरीको दुर्भाग्य भनौं उनी २०७० २०७४ का चुनावमा गच्छदारसँग झिनो मतले पराजित भइन् । गच्छदार जिताउँदा धाँधली भएको भन्दै उनले पुनः मतगणनाका लागि दिएको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमै छ ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अदालतको आदेशले निलम्बनमा रहेका गच्छदारलाई नै कांग्रेसले टिकट दिएको छ । उनी जिते भने पुनः निलम्बनमा पर्नेछन् भने भगवती जितिन् भने पहिलो पटक संसद् भवनमा प्रवेश गर्नेछिन् ।

मञ्जु चौधरी, उदयपुर १

मञ्जु चौधरी उदयपुर १ बाट प्रत्यक्ष निर्वाचनमा तेस्रो पटक उत्रिँदै छन् । उनले २०७० सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा जित हात पारे पनि २०७४ सालमा भने नेपाली कांग्रेसका नेता तथा हालका परराष्ट्रमन्त्री नारायण खड्कासँग हार व्यहोरिन् । यस पटक पनि उनी खड्कासँग भिड्दैछिन् । चौधरी यसअघि शहरी विकास राज्य मन्त्री समेत भइसकेकी छन् ।

ज्वाला साह, बारा ३

ज्वाला कुमारी साहलाई एमालेले यस पटक बारा क्षेत्र नं। ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । २०६४ सालमा माओवादीबाट चुनाव जितेकी साहे २०७० को निर्वाचनमा भने पराजय बेहोरिन् ।

२०७४ मा भएको प्रदेशसभा चुनावमा बाम गठबन्धनबाट शाहले जित हात पारिन । ज्वाला नेकपा विभाजनको बेला प्रदेश सांसदको पद छाडेर एमालेमा लागेकी थिइन् । उनी यसबीचमा मधेस प्रदेश अध्यक्ष हुँदै हाल एमालेको पोलिटव्युरो सदस्य छिन् ।

जुली कुमारी महतो, धनुषा ३

जुली महतो धनुषा ३ बाट दोस्रो पटक प्रत्यक्षतर्फ भिड्दैछिन् । यसअघि उनी दुई पटक समानुपातिकमा परेकी थिइन । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो ९उद्योगपति० की बहिनी समेत रहेकी जुली केपी ओली सरकारकै पालामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत बनेकी थिइन् ।

उनी धनुषा ३ बाट उम्मेदवार बन्दै गर्दा हेबिवेट नेताहरू विमलेन्द्र निधी र राजेन्द्र महतोले मैदान छाडेका छन् । उनका पति रघुवीर महासेठ सोही जिल्लाको क्षेत्र नम्बर ४ मा उम्मेदवार छन् ।

पद्मा अर्याल, स्याङ्जा २

नेकपा एमालेको पहिलो जिल्ला अध्यक्ष महिला बनेर चर्चामा आएकी पद्मा अर्यालको पहिलो चुनाव नै कांग्रेसका हेबिवेट नेता गोपालमान श्रेष्ठसँगको प्रतिस्पर्धाबाट शुरु भएको थियो ।

नेकपा एमालेकी सचिव अर्याल स्याङ्जा क्षेत्र नं। २ बाट प्रत्यक्षतर्फ दोस्रो पटक चुनाव लड्दा प्रतिस्पर्धी भने फेरिएका छन् । यसअघि २०७४ मा बहालवाला उपप्रधानमन्त्री गोपाल मान श्रेष्ठलाई अर्यालले पराजित गरेकी थिइन् ।

अहिले उनी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग भिड्दैछिन् । उनी नेकपा सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र कृषि मन्त्री समेत बनिसकेकी छन् ।

उनकै पालामा नेपालको चुच्चे नक्सा भूमि व्यवस्था मन्त्रालयबाट उनकै नेतृत्वमा प्रकाशन भएको थियो भने सगरमाथाको उचाई मापनको नेतृत्व पनि उनैले गरेकी थिइन् ।

विद्या भट्टराई, कास्की २

विद्या भट्टराई दोस्रो पटक कास्की २ मा उम्मेदवार बनेकी छन् । रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको ठाउँमा उपचुनाव जितेपछि राजनीतिमा कम ब्याक भएकी भट्टराई यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवार छिन् ।

मञ्जु शर्मा चालिसे, बागलुङ २

मञ्जु शर्मा चालिसे बाग्लुङ २ बाट प्रत्यक्ष निर्वाचन लड्दैछिन् । केही समय अघि नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेकी चालिसे यसअघि स्थानीय तहको चुनावमा गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार बनेर एक्लै ३२६५ मत पाएकी थिइन् । एमालेमा चालिसे नयाँ अनुहार हुन् ।

शान्ता चौधरी, दाङ १

एमालेको प्रमुख सचेतक समेत रहिसकेकी शान्ता चौधरी दाङ क्षेत्र नं। १ बाट लड्दैछिन् । प्रत्यक्षतर्फ यो उनको दोस्रो पटक हो । २०७० मा हार व्यहोरेकी चौधरी पहिलो संविधान सभाको सदस्य समेत हुन् । समानुपातिकबाट उनी सांसद बनेकी थिइन् । दाङ, लक्ष्मीपुर निवासी चौधरी आठ वर्षको उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी थिइन् । उनको आत्मकथा ‘कम्लहरीदेखि सभासद्सम्म’ प्रकाशित छ ।

गौरी ओली, डोटी

गौरी वली डोटीबाट लड्दैछिन् । एक पटक समानुपातिक भएकी ओली एमालेको केन्द्रीय सदस्य हुन् । पहिलो पटक प्रत्यक्ष उम्मेदवारी दिएकी ओली सत्ता गठबन्धनका प्रेम आलेसँग भिड्दैछिन् ।

निरु पाल, कञ्चनपुर ३

एमाले पोलिटव्युरो सदस्य निरुदेवी पाल कञ्चनपुर ३ बाट प्रत्यक्ष निर्वाचन लड्दैछिन् । उनको लागि प्रत्यक्ष उम्मेदवारी यो दोस्रो अनुभव हो । एक पटक समानुपातिक भइसकेकी उनी कांग्रेसका नेता रमेश लेखकसँग दोस्रो पटक प्रतिस्पर्धा गर्दैछिन् ।

कोमल ओली, दाङ ३

एमालेले गायिका कोमल वलीलाई यस पटक निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ । एमालेले उनलाई दाङको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बनाएको हो ।

अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । तर त्यति बेला उनले टिकट पाइनन् । टिकट नदिए पनि पछि वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

नेपाली काग्रेसबाट ५ जना मात्र महिला उमेदवार

यसैगरी सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा ५ जना मात्रै महिला समेटिएका छन् ।

देशभरका ७ वटा प्रदेशमध्ये ४ वटा प्रदेशमा एक–दुई जना गरेर महिलाको सहभागिता गराएको भए पनि ३ वटा प्रदेशमा भने एक जना पनि महिलाको उम्मेदवारी दर्ता भएन ।

कांग्रेसले प्रदेश १ का १९ वटा क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा २ जना महिलाको उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेसले एउटा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा सीता गुरुङलाई उम्मेदवार बनाएको छ । मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइरालाको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै मधेस प्रदेशका १५ वटा निर्वाचन क्षेत्रमध्ये एक निर्वाचन क्षेत्रमा मात्रै महिलाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट सिरहा क्षेत्र नम्बर २ मा चित्र लेखा यादवले उम्मेदवारी दर्ता गराएकी हुन् ।

बागमती प्रदेशका १८ वटा निर्वाचन क्षेत्रमा गठबन्धनबाटै नेपाली कांग्रेसका साझा उम्मेदवार उठाउँदा एक जना महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी सह महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दर्ता गराएकी हुन् ।

लुम्बिनीका १३ वटा निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दर्ता गराउँदा १ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ । जसमा निवर्तमान उपसभामुख पुष्पा भुसालले अर्घाखाँचीबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला उम्मेदवारी शून्य

यस्तै गण्डकी प्रदेशका ११ निर्वाचन क्षेत्र, सुदूरपश्चिम प्रदेशमा ९ वटा निर्वाचन क्षेत्र र कर्णाली प्रदेशका ४ वटा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले साँझ उम्मेदवारका रूपमा आफ्नो पार्टीबाट उम्मेदवारी दर्ता गराउँदा एक जना पनि महिलाको उम्मेदवारी दर्ता गराउन सकेन ।

कांग्रेसले ७७ निर्वाचन क्षेत्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको हो ।

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले ४७, नेकपा (एकीकृत समाजवादी)ले २०, लोकतान्त्रिक समाजवादी पार्टीले ७ र जनमोर्चाले २ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।


सम्बन्धित समाचार