Logo

२३ असोज, काठमाडौँ ।
आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका हुन् ।

नेकपा (एमाले) परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले भुसाललाई टिकट नदिएपछि शनिबार पार्टी छाडेको घोषणा गरेका थिए । एमालेकै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेका नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीले टिकट नदिएपछि चितवन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट कारबाहीमा परेका जोशी स्वतन्त्र उम्मेदवार बनेका हुन् । कांग्रेसका नेता अमरेशकुमार सिंहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेताहरूले विगतमा उठेकै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

काठमाडौँमा क्षेत्र नं ३ मा कांग्रेसका पूर्व नगर सभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसबाट असन्तुष्ट कामपा–६ का पूर्व वडाध्यक्ष दीपेन्द्र लामाले प्रदेश (क) का लागि स्वतन्त्र उम्मेदवारी दिइका छन् । प्रदेश (ख) मा महिला संघ काठमाडौंका अध्यक्ष विष्णुदेवी पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिए ।

लेखक युग पाठकले झापा क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको डडेलधुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)की निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले उम्मेदवारी दर्ता गराएकी छन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

एमालेका १२ जना विद्रोही उमेदवार

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा टिकट नपाएपछि प्रमुख राजनीतिक पार्टीमा बागी उम्मेदवारको बाढी लागेको छ । त्यसमध्ये नेकपा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध प्रतिनिधि सभातर्फ नौ तथा प्रदेश सभातर्फ तीन जनाको स्वतन्त्रका नाममा बागी उम्मेदवारी परेको हो ।

कहाँ कसको बागी ?

दाङ १ मा चौधरीविरुद्ध गंगा सत्गौवा
रुपन्देही ५ खिमलाल भट्टराईविरुद्ध बासुदेव घिमिरे
रुपन्देही १ छविलाल विकविरुद्ध घनश्याम भुसाल
कास्की ३ दामोदर बैरागीविरुद्ध जगन्नाथ बास्तोला
स्यांजा २ पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपाने
काठमाडौं ७ एमाले समर्थनका राजेन्द्र श्रेष्ठविरुद्ध रामवीर मानन्धर
रौतहट ३ प्रभु साह एमालेको टिकट छाडेर बागी
दैलेख १ रवीन्द्रराज शर्माविरुद्ध गोपाल नेपाली
सर्लाही १ जसपा एमाले गठबन्धनका प्रमोद साहविरुद्ध मानबहादुर खड्का
प्रदेशतर्फ
धादिग १ (क) रमेश आचार्यविरुद्ध नेत्रराज पौडेल
बाजुरा (क) लालबहादुर थापाविरुद्ध सहदेव बोगटी
सुर्खेत १ (ख) डण्डीप्रसाद शर्माविरुद खड्क बहादुर खत्री


सम्बन्धित समाचार