Logo

२५ असोज, वीरगञ्ज ।
केही अघिसम्म लोसपा, जसपा लगायतका दलबाट विभिन्न नेता–कार्यकर्तालाई भित्र्याउँदै मधेस प्रदेशमा आफ्नो पक्षमा ठुलो जनलहर आएको दाबी गरेको नेकपा एमालेलाई प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन नै ठुलो झट्का लागेको छ ।

उम्मेदवारी मनोनयन दर्ताकै पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच चुनावमा तालमेलको सहमति भएपछि मधेस प्रदेशमा एमाले–जसपा गठबन्धनप्रति असन्तुष्ट एमालेका नेता–कार्यकर्ताले विद्रोह गरेका छन् ।

विद्रोहको नेतृत्व पूर्वमन्त्री एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले गरेका छन् । यहाँसम्म कि, साहले रौतहट–३ मा प्रतिनिधिसभातर्फ एमालेबाट उम्मेदवारीको टिकट पाए पनि उनले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराए । उनका कयौं सहयोगीले पनि विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नीतिगत असहमतिका कारण स्वतन्त्र उम्मेदवारी साह

पूर्वमन्त्री प्रभु साहले एमाले नेतृत्वसँग नीतिगत असहमतिका कारण आफूहरुले स्वतन्त्र उम्मेदवारी दिनु परेको बताए । उनले पार्टीको कुनै पनि कमिटीमा छलफल नै नगरी अध्यक्ष ओलीले जसपासँग तालमेलको निर्णय गरेको आरोप लगाए ।

‘एमाले र जसपाको गठबन्धन अनैतिक छ । यो गठबन्धन देश, जनता र कम्युनिस्ट आन्दोलनको पक्षमा छैन,’ उनले भने, ‘ओलीजीले पार्टीको निर्णय बिना नै, पार्टीको नीतिसमेत विपरीत जसपासँग सम्झौता गर्नुभयो, त्यो भनेको देश र जनताको लागि होइन, कुर्सीकै लागि हो ।’

आफूले धेरै अघिदेखि जसपा वा लोसपासँगको गठबन्धनको नीतिगत विरोध गर्दै आएको पनि उनले स्मरण गराए । मधेस प्रदेश सरकारको सुरुवाती करिब तीन वर्ष दुवै दल सरकारमा रहेको र यस क्रममा मधेस प्रदेशमा भ्रष्टाचार सर्वाधिक देखिएको उनको भनाइ छ ।

यस अतिरिक्त देशमा साम्प्रदायिक राजनीति गरेर कहिले यता, कहिले उता गर्दै आफ्नो स्वार्थ पूरा गर्दै आएका दलसँग एमालेले गठबन्धन गर्न नहुने पक्षमा आफू सुरुदेखि नै दृढ रहँदै आएको उनले बताए । पछिल्लो समय ती दलको राजनीतिक धरातल कमजोर हुनु, जनतामा चरम असन्तुष्टि बढ्नु जस्ता कारणले नै दुवै दलबाट विभिन्न नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेको उनले प्रस्ट पारे ।

‘यस्तो अवस्थामा फेरि उही दलसँग चुनावमा तालमेल गरेर मत माग्दै हिँड्न नैतिक रुपमा हामीलाई सुहाउँदैन,’ पूर्व मन्त्री साहले भने, ‘त्यसैले जहाँजहाँ एमाले–जसपा गठबन्धन भएको छ, त्यहाँ हामीले स्वतन्त्र उम्मेदवारी दिएका छौं ।’

पूर्वमन्त्री साहले जसपालाई ‘कहिले यता, कहिले उता गरेर देशको राजनीतिलाई अस्थिर बनाउने एउटा झुण्ड’ को संज्ञा दिए । उनले भने, ‘यो त्यही दल हो जसले देशमा साम्प्रदायिकता ल्यायो । मधेस प्रदेश सरकारको नेतृत्वमा रहेर भ्रष्टाचारमा बदनाम भइसकेको छ । देश र जनताका लागि राजनीति गर्छौं भन्ने हो भने फेरि त्यही दलसँग चुनावमा कसरी सहकार्य गर्न सकिन्छ ?’

एमालेले अचानक जसपासँग तालमेलको निर्णय गरेपछि आफूहरुले विभिन्न जिल्लाका नेता–कार्यकर्तासँग सल्लाह गरेर स्वतन्त्र उम्मेदवारीका लागि आह्वान गरेको उनले बताए । ‘मेरै आह्वानमा, मेरै नेतृत्वमा साथीहरुले उम्मेदवारी दिएपछि मैले एमालेको टिकटमा कसरी उम्मेदवारी दिनु ?’ उनले भने, ‘यो अवस्था आउनु अघि नै मैले ओलीजीलाई भनेको थिएँ कि, तपाईले जबर्जस्ती तालमेल गर्ने हो भने गर्नु तर कार्यकर्ताले यसलाई स्वीकार गर्दैनन्, जनताले रुचाउँदैनन् । उहाँले मेरो कुरा मान्नुभएन । त्यसपछि मैले उक्त निर्णयलाई चुनौती दिनुबाहेक विकल्प थिएन ।’

पूर्वमन्त्री साहका अनुसार अब एमालेसँग दुई वटा विकल्प छन् । ‘एमालेले स्वतन्त्र उम्मेदवारी दिएका हामी सबैलाई कारबाही गर्ने कि हाम्रो उम्मेदवारीलाई स्वीकार गर्ने ? यिनै दुई विकल्प अब एमालेसँग बाँकी छ,’ उनले भने ।

जनताको भावना, कार्यकर्ताको अपेक्षालाई एमालेले निर्वाचनकै पूर्वसन्ध्यामा ठेस लगाएको उनको भनाइ छ । ‘केही अघिसम्म त ओलीजीले नै पाँच दलीय गठबन्धनमात्र होइन, ८र१० दलीय गठबन्धन भए पनि एमाले एक्लै सामना गर्न तयार रहेको भन्नुभएकै हो नि,’ उनले भने, ‘अहिले त्यस्तो के आइपरयो र जसपासँग तालमेल नगरी भएन ?

आफूले लोसपासँग सहकार्य गर्दा पनि असहमति जनाएको उनले स्मरण गराए । ‘एमाले भनेको राष्ट्रवादी शक्ति हो, कुनै राष्ट्रघाती पार्टीसँग सहकार्य गर्नु हुँदैन भनेर मैले त्यो बेला भनेको थिएँ,’ उनले भने, ‘यद्यपि मैले त्यतिबेला कुनै दलको नाम लिएको थिइनँ ।’

नेकपा एमाले छाडेर मधेस प्रदेशमा स्वतन्त्र उम्मेदवार दिनेहरूको नामावली

प्रतिनिधिसभातर्फः

प्रभु साह, रौतहट–३

किरण साह, रौतहट–२

प्रदिप साह, रौतहट–४

राम आधार कापड, महोत्तरी –३

मानबहादुर खडका, सर्लाही–१

किशोरी साह ‘कमल’, धनुषा–१

कृष्ण कुमार महतो, धनुषा –४

सन्तोष श्रेष्ठ, पर्सा –१

प्रदेशसभातर्फः

चन्द्रभुषण साह, सर्लाही १(क)

रेनुका पोडेल, सर्लाही ३ (क)

उमेश कुशवाहा, बारा ४ (ख)

केशव राय चौधरी, रौतहट ३ (क)

कुन्दन कुशवाहा, रौतहट ३ (ख)

राजेश चौधरी, रौतहट १ (ख)

मनोज यादव, रौतहट १ (ख)

मुजिम राय, महोत्तरी ३ (क)

सुनिल रोहित, महोत्तरी ३ (ख)

गोपाल प्र। यादव, सिरहा ३ (ख)

योगेश सिंह, सिरहा २ (ख)

प्रमोद महतो, महोत्तरी १ (ख)

देवराज घिमिरे, बारा १ (क)

जयन्त कुशवाहा, बारा १ (ख)

कदम रसुल, पर्सा– (ख)

पहलाद गुप्ता, पर्सा ४ (ख)

विनोद लामा, पर्सा २ (क)


सम्बन्धित समाचार