Logo

४ कार्तिक, वीरगञ्ज ।
पर्साका १४ पालिका मध्ये सुदुरपश्चिमा रहेको ठोरी गाउँपालिकाले आफ्ना पालिका अन्तरगत सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा शिशु कक्षा देखि उच्च माध्यामिक तह सम्मको पढाई निशुल्क गरेको छ ।

गत साउन देखि लागु हुनेगरी निशुल्क शिक्षा कार्यान्वयनमा ल्याइएको ठोरी गाउँपालिकाले जनाएको छ । निशुल्क शिक्षा कार्यान्वयन गर्ने ठोरी मधेश प्रदेशको पहिलो पालिका हो ।

ठोरी गाउँपालिकाको गत असारमा सम्पन्न गाउँपरिषदबाट पालिका भित्र संचालित सम्पूर्ण सामुदायिक विद्यालयमा निशुल्क शिक्षा अनिवार्य गर्ने निर्णय गरेअनुसार नै गत साउन देखि शिक्षाको नाउँमा अभिभावकबाट कुनै शुल्क नउठाइएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख भूपाल जोशीले बताए ।

बिद्यालयले निजी स्रोतबाट कर्मचारी र शिक्षक भर्ना गर्नुपर्ने भएकोले खर्च जुटाउन विभिन्न शिर्षकमा सामुदायिक बिद्यालयहरुले अभिभावकसँग रकम लिने गर्दै आएकोमा यस बर्ष देखि गाउँपालिकाले नै सम्पूर्ण खर्च व्यर्होने भएको हो । गाउँपालिकाले नै सम्पूर्ण खर्च दिन्छ अव अभिभावकले दिनुपर्दैन पालिकाका अध्यक्ष लालवहादुर श्रेष्ठले भने ।

ठोरी गाउँपालिका भित्र आधारभूत र माध्यामिक गरी २१ वटा सामुदायिक विद्यालय रहेको र ती विद्यालयको भौतिक सुधार तथा अन्य खर्चका लागि गाउँपालिकाको गाउँ परिषदले ४८ लाख रुपियाँ छुट्टाएको पालिकाका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले जानकारी दिइन् । सामान्य नागरिकले पैसाको कारण पढाईबाट बन्चित हुन नपरोस भनेर नै शिक्षामा रकम विनियोजन गरिएको हो, उपाध्यक्ष रेग्मीले भनिन् “संविधानले नै माध्यामिक तह सम्मको शिक्षा निशुल्क भनेको छ, त्यो स्थानीय सरकारको हैसियतले हामीले कार्यान्वयन गरेका हौ ।”

पालिका भित्र संचालनमा रहेका शिशु कक्षा देखि ५ कक्षा सम्म संचालन हुने १० वटा, शिशु देखि ८ कक्षा सम्म पढाई हुने ५ वटा, कक्षा १० सम्मको एउटा र शिशु देखि कक्षा १२ सम्म पढाई हुने ५ वटा गरि २१ वटा सामुदायिक विद्यालयलाई बार्षिक रुपमा आर्थिक अनुदान दिने शर्तमा निशुल्क शिक्षा कार्यान्वयनमा ल्याइएको ठोरी गाउँपालिकाका अध्यक्ष लालवहादुर श्रेष्ठले वताए ।

ठोरी गाउँपालिका शिक्षा शाखा प्रमुख भूपाल जोशीका अनुसार ठोरीमा संचालनमा रहेका २१ वटा सामुदायिक बिद्यालयमा ४ हजार एक सय ८५ बिद्यार्थी अध्ययनरत रहेका छन् । ती मध्ये छात्रा (केटी) तर्फ २ हजार २ सय ४४ जना र छात्र(केटा) तर्फ १ हजार ९ सय ४१ बिद्यार्थी अध्ययनरत छन् ।

सामुदायिक बिद्यालय अन्तरगत १ सय १४ जना आधारभूत तहमा अध्यापन गराउने शिक्षक शिक्षिका छन भने २४ जना निम्न माध्यामिक तह र २३ जना माध्यामिक तहमा अध्यापन गराउने शिक्षक शिक्षिका रहेको जोशीले जानकारी दिएका छन् ।

शिक्षा शाखा प्रमुख जोशीका अनुसार ठोरीमा २७ जना शिक्षिका बालबिकास तर्फ, २१ जना गाउँपालिकाले स्रोत दिनेगरी, १३ जना शिक्षकलाई स्वंयमसेवी शिक्षकको रुपमा गाउँपालिकाले खर्च व्यर्होनेगरी र २४ जना कार्यालय सहयोगी तथा ५ जना कार्यालय सहायकको रुपमा बिद्यालयमा कार्यरत छन् ।

यस बर्ष बिद्यालयको मर्मत सम्भार र आन्तरिक प्रशासनीक खर्च एंव बिद्यालयको तर्फबाट आन्तरिक स्रोतबाट खर्च गर्नेगरी नियुक्त गरिएको शिक्षक शिक्षिकाको तलव समेत गरेर बार्षिक ४८ लाख खर्च हुने अनुमानका साथ बजेटको व्यवस्था गरिएको शिक्षा प्रमुख जोशीको भनाई छ ।

नेपालको संबिधान २०७२ को भाग ३ मा राखिएका मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षा सम्बन्धी व्यवस्थामा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भनिएको छ । संबिधानमा नै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने ग्यारेन्टि गरेपनि पर्साका अधिकांश पालिकामा संचालित विद्यालयमा निजी क्षेत्रबाट संचालित विद्यालय सरह नै शुल्क लिने गरेको पाइन्छ ।

वीरगञ्ज महानगरपालिका भित्र रहेका अधिकांश माध्यामिक विद्यालयमा चर्को शुल्कको विरोधमा अभिभावक र विद्यार्थीहरुले आन्दोलन समेत गर्दै आइरहेका छन । विद्यार्थीसँग अनावश्यक शिर्षकमा शुल्क उठाएको बिषयमा वीरगंजको नृसिंह माध्यामिक विद्यालयका विरुद्ध उच्च अदालत वीरगञ्जमा मुद्दा समेत परेको छ ।

शुल्कको बिषयलाई लिएर यसअघि माइस्थान बिद्यापिठ माध्यामिक विद्यालय, त्रिजुद्ध मावि र सिद्धार्थ माविका बिषयमा समेत अभिभावकहरुले विरोध गर्दै आएका थिए ।


सम्बन्धित समाचार