Logo

७ कार्तिक, वीरगन्ज । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन धुमधामका साथ मनाईदै । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइने गरिन्छ । आज बिहानैदेखि सरसफाई गरी लक्ष्मीको पूजाको लागि तयारी गरिदै छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्‍याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औंशीको रातलाई सुखरात्रि पनि भनिन्छ।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने चलन छ । लक्ष्मी पूजाका अवसरमा शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्परा अनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन पनि छ । आज साँझ युवतीहरू समूह बनाई घर–घरमा भैलो खेल्छन् ।

भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घर–घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यसैबीच आजै कुकुर तिहार पनि परेको छ । मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा कुकुरलाई लिईन्छ । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक भएर बस्ने बफादार जीव मान्दै आएको छ । आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति छ । कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्ड भागी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।


सम्बन्धित समाचार