
१ वैशाख,वीरगञ्ज । कपिलवस्तुमा शिकार खेल्न गएका एक युवकको आफ्नै साथीको बन्दूकको गोली लागेर मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका– ९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहामगरको दुई दिनअघि शिकार खेल्न गएको बेला साथीले बोकेको बन्दूक पड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुका इन्स्पेक्टर वीरबहादुर सुनारका अनुसार समुन्द्र आइतबार ३४ वर्षीय रामबहादुर थारु र ३६ वर्षीय कालु भन्ने राम थारुसँग कपिलवस्तु र अर्घाखाँची सिमानाको बुद्ध यशोधरा सामुदायिक वनमा शिकार गएका थिए । जंगल छेउमा पुग्दा गाडीको आवाज सुनेपछि प्रहरी आएको भन्दै भाग्ने क्रममा राम थारुले बोकेको बन्दूक पड्किएर समुन्द्रको खुट्टामा गोली लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
सुरूमा मृतकका साथीहरूले प्रहरीलाई बाख्रा चराउन गएको बेला अरु कसैले गोली हानेको भनी झूटो बयान दिएका थिए । तर, प्रहरीले गरेको अनुसन्धानपछि उनीहरूले नै लगेको बन्दूकबाट समुन्द्रको मृत्यु भएको पत्ता लागेको हो । मृतककी आमाले पनि गाउँलेले ढाँटेर दुःख दिएको बताएकी थिइन् ।
गोली लागेर गम्भीर घाइते भएका समुन्द्रलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो, जहाँ अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते समुन्द्रलाई साथीहरूले कसैलाई जानकारी नगराई सिधै मेडिकल कलेज पु¥याएका थिए ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा रामबहादुर थारु, कालु भन्ने राम थारु र बन्दूक लुकाउन सहयोग गर्ने प्रवेश थारुलाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट दुई नाल भरुवा बन्दूक बरामद गरेको छ, जसमध्ये एउटा फायर गरिएको र अर्को लोड अवस्थामा भेटिएको इन्स्पेक्टर सुनारले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दा तथा अवैध हातहतियारसम्बन्धी मुद्दा चलाउन प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । मृतक समुन्द्रको सोमबार बिहान अन्त्येष्टि गरिएको छ ।