Logo

८ वैशाख,रौतहट । रौतहट प्रहरीले ठूलो मात्रामा स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाको मौलापुर नगरपालिका–६ स्थित परशुरामपुर सडकखण्डमा आइतबार भएको जाँचका क्रममा प्रहरीले भारतबाट अवैध रूपमा भित्रिएको ८ लाख भारतीय रुपैयाँसहित २१ वर्षीय भारतीय नागरिक राज किशोर ठाकुरलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायका अनुसार पक्राउ परेका ठाकुर भारत बिहारको मोतिहारी जिल्ला कुन्डवा चैनपुरका बासिन्दा हुन्। प्रहरीले उनको साथबाट ५०० दरका ६ लाख, २०० दरका १ लाख र १०० दरका १ लाख गरी जम्मा ८ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। साथै, प्रहरीले बीआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।

प्रहरीले बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि ठाकुरलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले कडा निगरानी गरिरहेको प्रहरीको दाबी छ।


सम्बन्धित समाचार