
१३ जेठ, काठमाडौं ।प्रहरीले काठमाडौं प्रवेश गर्ने क्रममा एक बसका सहचालकलाई १२ किलोभन्दा बढी अवैध चाँदीसहित पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बाराको कलैया निवासी ३२ वर्षीय अनिश कुमार सिंह रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको यात्रुबाहक बस वीरगञ्जबाट काठमाडौं आउँदै थियो। सोमबार राति पौने १० बजेतिर नागढुंगा प्रहरी प्रभागको टोलीले बस जाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम चाँदीका गरगहना बरामद गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपील राज बोहराका अनुसार बरामद गरगहनासम्बन्धी कुनै बिल वा वैध कागजात प्रस्तुत गर्न नसकिएकोले चाँदी अवैध भएको पुष्टि भएको हो। सहचालक सिंहले उक्त चाँदी काठमाडौं ल्याइरहेको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरीले यस विषयमा थप अनुसन्धान अगाडि बढाएको छ। प्रारम्भिक अनुमानअनुसार उक्त चाँदी काठमाडौँमा अवैध रुपमा कारोबार गर्ने उद्देश्यले ल्याइएको हुनसक्ने आशंका गरिएको छ।