Logo

१४ जेठ, बुटवल । बिहानको सुनसान समयमा बुटवल उपमहानगरपालिका–११ स्थित मिलिजुलीपथ एकाएक चिसो भयो। घाम नउदाउँदै त्रासदीले त्यो बस्ती स्तब्ध बनायो – एकै घरभित्र तीनजना निसास्सिएर मरेका थिए। हत्या भएका थिए ३३ वर्षीया दीपा बस्याल र उनका दुई साना छोरीहरू, ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी।

यी तीन जीवन लिने व्यक्ति अरु कोही नभई, दीपाकै पूर्वपति सुरज कोइराला थिए – जसलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गर्‍यो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार हत्या बुधबार बिहान करिब ४ बजे भएको हो। “दीपाले दुई छोरीसहित गएराति पूर्वपतिको घरमा गएकी थिइन्,” उनले भने, “राति सँगै बसेपछि बिहानपख तिनै सुरजले घरेलु हतियार प्रयोग गरी तीनै जनाको हत्या गरेका छन्।”

हत्या भयावह थियो – चक्कु र हेम्बर प्रहार गरी गरिएको। शव हेर्दा मात्रै पनि रौं ठाडा हुने दृश्य देखिएको प्रहरीले जनाएको छ।

दीपा बस्याल हालका श्रीमान वैदेशिक रोजगारीमा गएका बेला आफ्ना दुई छोरी लिएर पूर्वपति सुरजलाई भेट्न गएकी थिइन्। ती छोरीहरू हालका श्रीमानकी सन्तान हुन्, अर्थात् सुरज कोइरालासँग रक्त सम्बन्ध नभएका। त्यसैले पनि, घटनाको पृष्ठभूमिमा पुरानो सम्बन्धप्रतिको ईर्ष्या, प्रतिशोध र आक्रोश मिसिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अझ चकित पार्ने कुरा के भने, हत्या आरोपी कोइराला पहिले पनि एकजना आफ्नै दाजुको हत्या अभियोगमा १० वर्ष जेलमा थुनिएका थिए। उनले केही वर्ष अघि संविधान दिवसको अवसरमा आम माफी पाई जेलमुक्ति पाएका थिए।

“एक पटकको हत्यामा जेल बसेका व्यक्ति फेरी त्रिपल हत्या गर्न पुग्दा हाम्रो आपराधिक न्याय प्रणालीमाथि प्रश्न उठाउँछ,” एक स्थानीयले भने, “के हामी यस्ता खतरनाक व्यक्तिलाई समाजमा खुला छाड्न सक्छौं ?”

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ। तर यस घटनाले एकपटक फेरि सतर्क गराएको छ – भूतपूर्व सम्बन्धमा पनि कति खतरनाक द्वेष पलाइरहेको हुनसक्छ भन्ने कुरालाई।


सम्बन्धित समाचार