
१४ जेठ,काठमाडौं । नेपाल घुम्न आएका बंगलादेशी नागरिकहरूलाई अपहरण गरी फिरौती माग गरेको आरोपमा प्रहरीले पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरू ३८ वर्षीय शिव सौरभ, ३२ वर्षीय दिपक कुमार, ३६ वर्षीय सन्दीप कुमार, ३८ वर्षीय जसप्रित सिंह र ६४ वर्षीय रमेश जाधव रहेका छन्।
प्रहरीका अनुसार, सस्तोमा काठमाडौँ घुमाई दिने आश्वासनमा पारी ललितपुर महानगरपालिका १५ स्थित एक घरमा उनीहरूलाई बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको आरोप छ। पीडितहरूको साथमा रहेको नगद, मोबाइल लगायतका सामग्री लुटेर आफन्तलाई ह्वाट्सएपमार्फत फिरौती रकम माग गर्ने गरेको पनि आरोप लागेको छ।
प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न भारतीय नागरिकहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।