२३ कात्तिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठकले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार यस वर्षको पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।गत असोज ७ र ८ गते सम्पन्न पूरक परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका छन् भने ४ जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ।
यसअघि गत ११ साउनमा प्रकाशित नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।बोर्डका अनुसार विद्यार्थीहरूले नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्न सक्नेछन्।
नतिजा बोर्डको आधिकारिक वेबसाइट तथा सम्बन्धित विद्यालयमार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको छ।