२९ कार्तिक, वीरगञ्ज । मधेस प्रदेशका नयाँ मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति “असंवैधानिक र प्रक्रियाविहीन” भएको आरोप लगाउँदै पाँच राजनीतिक दलका नेताहरूले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् ।
शुक्रबार नेकपा (माओवादी केन्द्र), जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल तथा जसपा नेपालका प्रतिनिधिहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त कदमको विरोधमा विस्तृत आन्दोलन कार्यक्रम सार्वजनिक गरेका हुन् ।
गत शनिबार तत्कालीन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले “संवैधानिक प्रक्रिया विपरीत” यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको तथा “होटल (रेस्टुरेन्ट) जस्ता संवेदनशील बाहिरी स्थलमा शपथ ग्रहण गराइएको” भन्दै पाँच दलका नेताहरूले घटनालाई “निन्दनीय र घृणित” भएको टिप्पणी गरेका छन् ।
दलहरूले जारी गरेको विज्ञप्तिमा संविधान, सङ्घीयता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मविपरीत रातारात गरिएको राजनीतिक कदमलाई “गैर–संवैधानिक, प्रतिगमनकारी र मधेसी जनताको अधिकारमाथि प्रहार” गरिएको दाबी गरिएको छ ।
यसका साथै दलहरूले “गैर–संवैधानिक तरिकाले नियुक्त भई रेस्टुरेन्टमै शपथ ग्रहण गरेका” मुख्यमन्त्री यादवलाई तत्काल बर्खास्त गर्न माग गर्दै मधेस प्रदेशका नागरिकलाई संविधान तथा लोकतन्त्र रक्षाका लागि शान्तिपूर्ण विरोधमा सहभागी हुन आव्हान गरेका छन् ।
संयुक्त आन्दोलनका क्रममा दुई चरणका कार्यक्रम सार्वजनिक गरिएको छ । आज कार्तिक २९ गते, शनिबार साँझ ५:०० बजे सर्लाही, मलंगवास्थित सहिद चोकमा मसाल जुलुस र भोलि ३० गते, आइतबार बिहान ११:०० बजे खबरदारी जुलुस गरिने भएको छ ।
विज्ञप्तिमा माओवादी केन्द्रका प्रतिनिधि प्रमोद शाह, जसपा नेपाल सर्लाहीका अध्यक्ष रमजीर कुमार यादव, जनमत पार्टीका इन्चार्ज श्रीचन्द्र यादव, लोसपा नेपाल सर्लाही अध्यक्ष रामसुवार यादव, तथा जसपा नेपालका राम सिंहासन पटेलका हस्ताक्षर छन्।
दलहरूले प्रदेशमा “संवैधानिक प्रक्रिया र राजनीतिक मर्यादाको बहाली” नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।

















