२ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्र चर्किएको आधिकारिकता विवादका कारण कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा सुरक्षा संवेदनशीलता बढेको छ।
पार्टीका दुई पक्षबीचको विवादले उग्र रूप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायले आयोग परिसरमा सुरक्षाकर्मीको संख्या उल्लेख्य रूपमा थप गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार बिहानैदेखि आयोग वरपरको क्षेत्रमा कडा सुरक्षा तैनाथी बढाएको हो ।
विशेष महाधिवेशनको वैधानिकतालाई लिएर सुरु भएको विवाद पछि शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति भएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, राजनीतिक दलको आन्तरिक विवादका कारण हुनसक्ने सम्भावित मुठभेड वा प्रदर्शनलाई रोक्न अतिरिक्त सुरक्षा बल परिचालन गरिएको छ। आयोग परिसरमा सुरक्षाकर्मीहरूले भित्र प्रवेश गर्ने र बाहिरिने टोलीमाथि सूक्ष्म निगरानी राखिरहेका छन् ।
शुक्रबार बिहानैदेखि देउवा पक्षका केन्द्रीय सदस्यहरू र जिल्ला सभापतिहरूको टोली कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसँग छलफलका लागि उनको कार्यकक्षमा पुगेको छ । नेताहरू छलफलमा व्यस्त रहँदा आयोगको बाहिरी परिसरमा भने तरुण दलका कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको छ । कार्यकर्ताहरूको भिड बढ्दै गएपछि सुरक्षाकर्मीहरूले ब्यारिकेड लगाएर भिड नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।
नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनलाई ुअवैधानिकु भन्दै चुनौती दिएपछि आयोगमा निवेदन परेको छ । सोही विषयमा आफ्नो दाबी पेश गर्न र आयोगको ध्यानाकर्षण गराउन पुगेको टोलीका कारण सिर्जित यो माहोलले निर्वाचन आयोगको नियमित कामकारबाहीमा समेत प्रभाव पारेको छ । आयोगले विवादको निरुपण नगरेसम्म यो क्षेत्रमा सुरक्षा चुनौती कायम रहने सुरक्षा अधिकारीहरूको बुझाइ छ ।















