Logo

५ वैशाख, वीरगञ्ज । नेपालभारत सीमा नाकामा भन्सार प्रशासन र सुरक्षा निकायले सुरु गरेको कठोर चेकजाँचले मधेसका जिल्लाहरूमा तनाव निम्त्याएको छ। सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने नियमलाई शून्य सहनशीलताका साथ लागू गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दा र सुरक्षाकर्मीबीच प्रतिवाद सुरु भएको छ।

सीमा क्षेत्रका मधेसी नेताहरूले सरकारको यो निर्णयले नेपाल र भारतबीच सदियौँदेखि चल्दै आएको रोटी-बेटीको सम्बन्धमा दरार पैदा गरेको आरोप लगाएका छन्। अहिले विवाहको सिजन चलिरहँदा भारतबाट विवाह गरेर नेपाल आउँदै गरेका बेहुला-बेहुलीले लगाएका र साथमा ल्याएका कपडामा समेत भन्सार कटाउनुपर्ने उर्दी प्रहरीले लगाएको छ।

माइतीबाट चेलीले ल्याउने सामान्य कोसेली र बेहुलीको लुगामा समेत कर माग्नु मानवीय संवेदना र संस्कृतिमाथिको प्रहार हो, स्थानीय अगुवाहरू भन्छन्। यसले गर्दा वैवाहिक कार्यका लागि आवतजावत गर्ने परिवारहरू नाकामै घण्टौँ रोकिनु परेको छ।

विराटनगर, वीरगञ्ज र जनकपुरका मुख्य नाकाहरूमा अहिले सर्वसाधारण र सुरक्षाकर्मीबीच दैनिक जसो भनाभन र धकेलाधकेल हुने गरेको छ। वीरगञ्जको इनर्वा र जनकपुरको जटही नाकामा स्थानीयले सुरक्षाकर्मीको कडा खानतलासीको सामूहिक प्रतिवाद गरेका छन्।

घरायसी प्रयोजनका लागि ल्याइएका एक-दुई किलो चिनी, नुन वा तेलमा समेत भन्सार मागेपछि आक्रोशित स्थानीयले नाकामै नाराबाजी समेत गर्न थालेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य उमेश यादव यसलाई निर्वाचित समूहको फासीवादको संज्ञा दिन्छन्। उनी भन्छन्, सीमा क्षेत्रका जनतालाई राज्यले नियोजित रूपमा सास्ती दिइरहेको छ, यसले जनतामा राज्यप्रति गम्भीर आक्रोश बढाउनेछ।

त्यसैगरी, राष्ट्रिय मुक्ति पार्टीका महासचिव अनिल महासेठले १०० रुपैयाँको सीमा अत्यन्तै अव्यावहारिक भएको जिकिर गरेका छन्। काठमाडौँको वातानुकूलित कोठामा बसेर मधेसको भुइँतहको सत्य बुझ्न सकिँदैन, उनको तर्क छ। राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले त यसलाई सरकारले आफ्नै नागरिकमाथि लगाएको अघोषित नाकाबन्दी को संज्ञा दिँदै आन्दोलनको चेतावनी दिएका छन्।

दोहोरो मापदण्डको मारमा मधेस

युवा अभियन्ता सञ्जय यादवले सरकारको दोहोरो मापदण्डको चर्को आलोचना गरेका छन्। उनी प्रश्न गर्छन्, त्रिभुवन विमानस्थलबाट सुटकेसका सुटकेस सामान ल्याउँदा छुट हुने, तर स्थलमार्गबाट दुई–चार सयको नुनतेल ल्याउँदा मधेसीलाई तस्करजस्तो व्यवहार गर्ने ?

अहिले भैरहवा, मेचीनगर, भद्रपुर र वीरगञ्ज जस्ता नाकाहरूमा सुरक्षाकर्मीले प्रत्येक व्यक्तिको झोला र पोका खोतलेर हेर्दा सीमामा लामो लाइन लाग्ने गरेको छ। सर्वसाधारणले घर खर्चका लागि ल्याएको थोरै सामानमा पनि कर तिर्नुपर्दा जीविकोपार्जनमै समस्या परेको गुनासो गरेका छन्।

यद्यपि, सीमा क्षेत्रका केही व्यापारीले भने यो कडाइको स्वागत गरेका छन्। उताबाट आउने सामान रोकिएपछि नेपालतर्फका पसलमा व्यापार बढ्ने उनीहरूको अपेक्षा छ। तर, आम नागरिक र राजनीतिक वृत्तमा भने यो नियमले सामाजिक सद्भाव बिथोल्ने भन्दै पुनरावलोकनको माग चर्किएको छ।


सम्बन्धित समाचार