१३ जेठ, काठमाडौं । गुड्ने सवारीसाधनको सङ्ख्याका आधारमा नेपाली सडकहरूमा दुईपाङ्ग्रे सवारीको वर्चस्व निकै बढेको पाइएको छ ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हालसम्म देशभर कुल ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन् । जसमध्ये ५० लाखभन्दा बढी त केवल मोटरसाइकल र स्कुटर मात्रै रहेका छन्, जसले कुल सवारीसाधनको ठुलो हिस्सा ओगटेको छ ।
पछिल्लो समय मुलुकभर नयाँ सवारीसाधन थपिने क्रम पनि उत्तिकै तीव्र छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (फागुन मसान्त) मा मात्रै देशभर बस, मिनीबस, ट्रक, माइक्रोबस, कार र मोटरसाइकलसहित थप २ लाख ८१ हजार ९२१ थान यातायातका साधनहरू नयाँ दर्ता भएका छन् । बढ्दो सवारी चापसँगै सडक पूर्वाधार र ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको सर्वेक्षणको तथ्यांकले संकेत गर्छ ।
यसैबिच, सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको क्षेत्रमा पनि प्रगति देखिएको छ । चालू आर्थिक वर्षको फागुनसम्ममा थप ४३ हजार ७५० थान स्मार्ट लाइसेन्स वितरण गरिएको छ । यससँगै मुलुकभर हालसम्म कुल लाइसेन्स प्राप्त गर्ने चालकहरूको सङ्ख्या ४१ लाख १४ हजार १८१ पुगेको छ ।
अर्कोतर्फ, लामो समयदेखि चर्चामा रहेको इम्बोस्ड नम्बर प्लेट जडानको गति भने निकै सुस्त देखिएको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा सो अवधिमा जम्मा ५ हजार १८६ थान मात्रै जडान हुन सकेको छ । तथ्यांक अनुसार हालसम्म देशभर गुड्ने लाखौँ सवारीसाधनमध्ये कुल ८८ हजार ३४० थान सवारीमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान सम्पन्न भएको छ ।


















