१३ जेठ, काठमाडौँ । धितोपत्र बजारमा झन्डै एक महिनापछि कारोबार रकमले ६ अर्ब रुपैयाँको बलियो विन्दु पार गरेको छ ।
बुधबार बजारमा कुल ६ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ, जुन गत वैशाख १५ गतेयताकै उच्च कारोबार हो । विगत केही हप्तादेखि लगातार ६ अर्बमुनि खुम्चिँदै आएको कारोबार रकममा बुधबार आएको यो सुधारले लगानीकर्ताहरूमा थप उत्साह जगाएको छ ।
कारोबार रकममा उल्लेख्य वृद्धि भए पनि बजार परिसूचक नेप्सेमा भने सामान्य सुधार मात्र देखिएको छ । बुधबार नेप्से परिसूचक ४.९९ अंक (०.१७ प्रतिशत) ले बढेर २७८२ अंकमा पुगेर बन्द भएको छ । दिनभर भएका कारोबारमा कुल १५१ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १०५ कम्पनीको मूल्यमा गिरावट आएको छ । त्यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । यस दिन बजारका सबै उपसमूहहरूको उतारचढाव भने १ प्रतिशतभन्दा कममै सीमित रह्यो ।
समूहतर्फ बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा बढी व्यापार समूह ०.७३ प्रतिशत र जीवन बीमा समूह ०.६८ प्रतिशतले बढेका छन् । अर्कोतर्फ अन्य, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र फाइनान्स समूहको सूचक भने सामान्य अंकले ओरालो लागेका छन् ।
कम्पनीगत रूपमा हेर्दा हालै मात्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको कालिन्चोक हाइड्रोपावरको सेयर मूल्यमा सर्वाधिक उछाल आएको छ । यस कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले बढेको छ । यस्तै, बुंगल हाइड्रोको १३.३७ प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ८.५२ प्रतिशतले वृद्धि भएको छ ।
बुधबार बजारमा विभिन्न कम्पनीका डिवेन्चर (ऋणपत्र) को मूल्य सबैभन्दा धेरै घट्दा आँखुखोला जलविद्युत्, रिडी पावर, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप पावर कारोबारका आधारमा अग्रस्थानमा रहे ।


















