Logo

१४ जेठ, माडी (चितवन) । गणतन्त्र दिवसको अवसरमा भोलि जेठ १५ गते बसन्तपुर बजारस्थित खुला चौरमा आयोजना हुन लागेको “माडी मौलिक सांस्कृतिक उत्सव” को पूर्वतयारीस्वरूप आज बसन्तपुर बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । बसन्तपुर टोल विकास संस्थाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, बजारबासी तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।

माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिकाको प्रवर्द्धनमा हुने उक्त उत्सवलाई लक्षित गर्दै बजार क्षेत्र, सडक किनार, सार्वजनिक स्थल तथा कार्यक्रम स्थल आसपासका क्षेत्रमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल, माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतो, उप–नगर प्रमुख खेमप्रसाद महतो, वडा नं. ५ का वडा अध्यक्ष गणेश घताने, वडा नं. ३ का वडा अध्यक्ष पुरण महतो, इलाका प्रहरी कार्यालय माडी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, स्थानीय युवा तथा बजारबासीहरूको संयुक्त सहभागिता रहेको थियो । सहभागीहरूले बजार सरसफाई, फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यसमेत गरेका थिए ।

माडीमा विविध जातजाति, भाषा, भेषभूषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त उत्सवमा मौलिक झाँकी, सांस्कृतिक प्रस्तुति, लोकनृत्य, लोकसंगीत तथा मौलिक खानाका परिकार मुख्य आकर्षणका रूपमा रहने जनाइएको छ ।

बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष यम कुमार ल्वागुनले उत्सवले माडीको सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै बाह्य पाहुनामाझ सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले बजार सरसफाईलाई प्राथमिकतामा राखिएको बताए । उनले स्थानीयवासी, जनप्रतिनिधि र सुरक्षा निकायको संयुक्त सहभागिताले कार्यक्रमप्रति अपनत्व र उत्साह थपिएको उल्लेख गरे । साथै यस्तो सहकार्यले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यसैगरी टोल विकास संस्थाका कार्यसमिति सदस्य अनुप भुसालले भोलि हुने कार्यक्रममा ठूलो संख्यामा आगन्तुक आउने भएकाले बजार क्षेत्रको सरसफाई, व्यवस्थापन र स्वागत तयारीलाई ध्यान दिइएको जानकारी दिए । उनले सरसफाई केवल एक दिनको काम नभई जिम्मेवार र सभ्य समाज निर्माणतर्फको साझा प्रयास भएको उल्लेख गरे ।

नगर प्रमुख तारा कुमारी काजी महतो ले नगरपालिकाको प्रवर्द्धन र माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयको संयुक्त सहभागिताले कार्यक्रम सफल भएको उल्लेख गरिन् । उनले सबै पक्षको सहकार्यले माडीको सामाजिक एकता र सांस्कृतिक चेतना अझ मजबुत बनेको बताइन् ।

माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले भाषा, संस्कृति, कला र रैथाने खानाको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजना गरिएको उत्सवमा स्थानीय टोल विकास संस्था, जनप्रतिनिधि र सुरक्षा निकायको सक्रिय सहभागिताले कार्यक्रमलाई थप ऊर्जा मिलेको उल्लेख गरे । उनले माडीको मौलिक पहिचानलाई संरक्षण गर्दै पुस्तान्तरण गर्ने प्रयासमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।

भोलि हुने उत्सवअन्तर्गत मौलिक झाँकीसहित बजार परिक्रमा, विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति तथा “मौलिक खाना पर्व” समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै