१४ जेठ, काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई जना वडाध्यक्षलाई पदमुक्त गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान उल्लंघन गर्दै दल परित्याग गरेपछि आयोगले उनीहरूलाई आधिकारिक रूपमा पदमुक्त भएको सूचना जारी गरेको हो । पदमुक्त हुनेहरूमा गुल्मीको मुसिकोट नगरपालिका–२ का वडाध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का वडाध्यक्ष पदमबहादुर बिष्ट रहेका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका दुवै वडाध्यक्ष गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले वडाध्यक्षहरूले पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेको औपचारिक निर्णय निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले सोही आधारमा रिक्त पदको घोषणा गरेको हो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ बमोजिम दल परिवर्तन गरेसँगै उनीहरूको पद स्वतः रिक्त हुन पुगेको हो । जनप्रतिनिधिहरूले दल परिवर्तन गर्दा कानुनी रूपमा पद गुमाउनुपर्ने प्रावधानको यो पछिल्लो उदाहरणले स्थानीय तहमा दलहरूको आन्तरिक अनुशासन र राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।


















