Logo

१४ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहँदा भन्सार विभागले देशभरका भन्सार कार्यालयहरूलाई आजै (जेठ १४ गते) भित्र दर्ता भएका सम्पूर्ण प्रज्ञापनपत्र जाँचपास गरिसक्न निर्देशन दिएको छ ।

भोलि जेठ १५ गते बजेट प्रस्तुत हुने र सो क्रममा करका दरहरूमा हेरफेर हुन सक्ने भएकाले विभागले यस्तो कडाइ गरेको हो । विभागले जारी गरेको पछिल्लो सर्कुलरअनुसार, आजभित्र जाँचपास हुन नसकेका प्रज्ञापनपत्रहरूको हकमा बजेटमार्फत आउने नयाँ आर्थिक विधेयकअनुसार नै दररेट लागू हुनेछ।

यदि आज जाँचपास हुन बाँकी रहेका वस्तुहरूको महसुल दरमा बजेटमार्फत परिवर्तन भएमा, परिवर्तित दरअनुसार नै महसुल असुली गरेर मात्र जाँचपास गर्ने व्यवस्था मिलाउन विभागले स्पष्ट पारेको छ ।

त्यस्तै, विभागले भोलि जेठ १५ गते बजेट प्रस्तुत हुने दिन यात्रु जाँचपासबाहेक भन्सारका अन्य सम्पूर्ण नियमित कार्यहरू बन्द गर्न पनि मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ । १६ गतेदेखि नयाँ आर्थिक विधेयकका प्रावधानहरू ‘आसिकुडा’ प्रणालीमा अद्यावधिक भएरनभएको सुनिश्चित गरेर मात्र जाँचपास प्रक्रिया अघि बढाउन विभागले ध्यानाकर्षण गराएको छ ।

बजेट भाषणसँगै करका दरमा हुने सम्भावित परिवर्तनलाई मध्यनजर गर्दै भन्सार विभागले राजस्व चुहावट नहोस् र प्रक्रियागत स्पष्टता कायम रहोस् भन्ने उद्देश्यले यो निर्देशन दिएको हो ।


सम्बन्धित समाचार
भर्खरै