Logo

१४ जेठ, काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट भाषण यसपटक पनि नयाँ संसद् भवनबाट नहुने भएको छ ।

सङ्घीय संसद् सचिवालयले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनमा आवश्यक प्राविधिक तयारी समयमै सम्पन्न हुन नसकेको जनाउँदै भोलिको बजेट भाषण पुरानै कामचलाउ हलबाट गरिने जानकारी दिएको हो ।

सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीका अनुसार नयाँ हलमा गरिनुपर्ने प्राविधिक कामहरू बाँकी रहेकाले बजेट वाचन गर्ने योजना तत्कालका लागि चुनौतीपूर्ण बनेको छ ।

सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन सङ्घीय संसद् भवन तोकिएको समयसीमाभित्र सम्पन्न हुन नसक्दा लामो समयदेखि प्रतिनिधिसभाका बैठकहरू कामचलाउ हलमै सञ्चालन हुँदै आएका छन् । नयाँ भवनको अपेक्षामा रहेका सांसद र सरोकारवालाहरूले निर्माण कार्यमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् ।

बजेट जस्तो महत्त्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गर्ने थलोका रूपमा नयाँ भवनलाई हेरिएको भए पनि पूर्वाधार तयारीको अभावमा संसद् सचिवालय पुरानै स्थानबाट काम चलाउन बाध्य भएको छ।


सम्बन्धित समाचार