१५ जेठ, काठमाडौं । ‘उज्यालो नेपाल’ र ‘हाम्रो पार्टी नेपाल’ बीच औपचारिक रूपमा पार्टी एकीकरण गर्ने सहमति भएको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच दुवै दलका शीर्ष नेतृत्वले पार्टी एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा उज्यालो नेपालका तर्फबाट महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टीका तर्फबाट महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार, दुवै दलले अब पूर्ण रूपमा एकीकृत भएर अघि बढ्ने निर्णय गरेका छन् ।
साथै, पार्टी एकतासँगै संगठन विस्तार तथा नेता र कार्यकर्ताहरूको समुचित व्यवस्थापनको प्रक्रियालाई उच्च प्राथमिकताका साथ तत्काल अघि बढाउने प्रतिबद्धता दुवै पक्षले जनाएका छन् ।


















