Logo

१५ जेठ,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा वीरगञ्जमा एकदिने कृत्रिम घटनामा आधारित ‘रेडक्रस इमर्जेन्सी क्लिनिक’ कार्यक्रम सम्पन्न भएको छ।

हाल विभिन्न क्षेत्रमा देखिएको हैजाजन्य (कोलेरा) महामारीको जोखिमलाई मध्यनजर गर्दै महामारीका बेला अपनाउनुपर्ने सतर्कता, प्राथमिक उपचार, सरसफाइ तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा कृत्रिम घटनाको अभ्यासमार्फत महामारी फैलिएको अवस्थामा रेडक्रसकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले उद्धार, प्राथमिक उपचार, समन्वय तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने प्रक्रिया व्यावहारिक रूपमा प्रदर्शन गरेका थिए। अभ्यासका क्रममा संक्रमित बिरामीको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण, सरसफाइ व्यवस्थापन तथा समुदायमा सचेतना फैलाउने गतिविधि समेटिएको थियो।

कार्यक्रममा बृजकिशोर पटेल ले महामारी तथा विपद्को समयमा यस्ता अभ्यासमूलक कार्यक्रम प्रभावकारी हुने बताए। उनले रेडक्रस मानवीय सेवामा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै आपत्कालीन अवस्थाको सामना गर्न स्वयंसेवक तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नुपर्ने बताए।

त्यस्तै कार्यक्रम संयोजक टीकाराज पौडेल ले महामारी नियन्त्रणका लागि समुदायस्तरमै चेतना र पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्दै सरसफाइ, स्वच्छ खानेपानी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय, जिल्ला शाखा, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता अभ्यासमूलक कार्यक्रमले महामारी तथा विपद् व्यवस्थापनमा स्थानीय तहको तयारीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै