१५ जेठ, काठमाडौं । नेपालको आर्थिक इतिहासमा बजेटको आकार निरन्तर रूपमा विस्तार हुँदै गएको छ, तर सरकारको खर्च गर्ने क्षमता र प्रभावकारितामा भने सुधार आउन सकेको छैन ।
वि.सं. २००८ सालमा पाँच करोड २५ लाख रुपैयाँबाट सुरु भएको बजेट परम्परा आज आइपुग्दा अर्बौंको फराकिलो दायरामा पुगेको छ । पछिल्लो १३ वर्षको तथ्याङ्कले बजेटको आकार हरेक वर्ष बढे पनि विनियोजित बजेट खर्च हुन नसक्ने र विकास निर्माणका कार्य सुस्त रहने प्रवृत्तिलाई निरन्तरता दिएको छ ।
बजेटको बढ्दो आकार र न्यून खर्चको चक्र
आर्थिक वर्ष २०७०/७१ मा करिब ५ खर्ब १७ अर्बको बजेट ल्याइएको थियो भने गत वर्षसम्म आइपुग्दा यो १९ खर्ब ६४ अर्ब रुपैयाँ नाघेको छ। तर, महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन र महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले हरेक वर्ष ठूलो आकारको बजेट ल्याउने तर लक्ष्यअनुसारको खर्च गर्न नसक्ने सरकारको कमजोर अवस्थालाई उदाङ्गो पारेका छन् ।
उदाहरणका लागि, चालू आर्थिक वर्षको जेठ १४ गतेसम्मको तथ्याङ्क हेर्दा पनि ६३ प्रतिशतभन्दा बढी खर्च हुन सकेको छैन, जसमा पुँजीगत (विकास) खर्चको अवस्था अझै दयनीय छ । ठूलो आकारको बजेट तर कमजोर कार्यान्वयन क्षमताले देशको अर्थतन्त्रको जग कमजोर बनाइरहेको अर्थविद्हरूको विश्लेषण छ ।
सात अर्थमन्त्री र बजेटको अस्थिर अभ्यास
पछिल्लो एक दशकको राजनीतिक उतारचढावसँगै बजेट निर्माण र कार्यान्वयनमा पनि पटक–पटक नेतृत्व परिवर्तन भएको छ । यस अवधिमा डा. रामशरण महत, विष्णुप्रसाद पौडेल, कृष्णबहादुर महरा, डा.युवराज खतिवडा, जनार्दन शर्मा, डा.प्रकाशशरण महत र वर्षमान पुनजस्ता सातजना अर्थमन्त्रीहरूले बजेटको बागडोर सम्हालेका छन् ।
हरेक मन्त्रीले आफ्नो कार्यकालमा फरक-फरक प्राथमिकताका साथ बजेट प्रस्तुत गरे पनि प्रशासनिक खर्च कटौती र पुँजीगत खर्च बढाउने प्रतिबद्धता भने सधैं छायामा पर्ने गरेका छन् ।
७५ औँ बजेट र सुधारको अपेक्षा
आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको ७५औँ बजेट प्रस्तुत गर्दै छन् । यसपटक सरकारले राष्ट्रिय योजना आयोगले दिएको सीमा (सिलिङ) भन्दा पनि माथि गएर बजेट ल्याउने तयारी गरेको छ । बजेटको आकार बढाउँदै गर्दा अर्थमन्त्री वाग्लेका लागि परम्परागत खर्च नहुने समस्यालाई चिर्नु र प्रशासनिक खर्चको भारलाई न्यूनीकरण गर्नु सबैभन्दा ठूलो चुनौतीका रूपमा खडा भएको छ ।
इतिहासले देखाएको ‘बजेटको आकार ठूलो तर परिणाम सानो’ हुने तीतो यथार्थलाई बदल्दै यस पटकको बजेटले कति परिणामात्मक नतिजा दिन सक्ला, त्यो भने हेर्न बाँकी छ ।


















