१५ जेठ, काठमाडौं । नेपालभर १५औँ गणतन्त्र दिवस विविध औपचारिक कार्यक्रमका साथ मनाइरहँदा काठमाडौंको माइतीघर मण्डलामा भने राजतन्त्र पुनर्वहालीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
‘शाही युवा शक्ति नेपाल’ को ब्यानरमा भेला भएका प्रदर्शनकारीहरूले गणतन्त्र दिवसलाई धोकाको संज्ञा दिँदै तीव्र विरोध जनाएका हुन् ।
प्रदर्शनमा सहभागी युवाहरूले ‘गणतन्त्र दिवस धोका हो’, ‘राजा ल्याऔँ, देश बचाऔँ’ र ‘राजसंस्था जिन्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका थिए ।
उनीहरूले वर्तमान गणतान्त्रिक शासन व्यवस्था पूर्णतः असफल भइसकेको दाबी गर्दै मुलुकलाई संकटबाट जोगाउन राजसंस्थाको विकल्प नरहेको जिकिर गरे । प्रदर्शनका क्रममा सहभागीहरूले मुलुकको बिग्रँदो आर्थिक अवस्था र राजनीतिक अस्थिरताका लागि गणतन्त्रात्मक व्यवस्था नै जिम्मेवार रहेको आरोप लगाए ।
गणतन्त्रको मूल समारोहमा राज्यका उच्च पदाधिकारीहरू सहभागी भइरहँदा माइतीघरमा भएको यस प्रदर्शनले सडकको माहोललाई केही समय तताएको थियो । प्रदर्शनकारीहरूले नाराबाजी गर्दै केहीबेर माइतीघर क्षेत्रमा धर्नासमेत दिएका थिए ।
सुरक्षाकर्मीहरूको उपस्थितिमा सम्पन्न उक्त विरोध प्रदर्शनले विशेष दिनमा फरक राजनीतिक विचार राख्ने समूहको सक्रियतालाई पुनः एकपटक सतहमा ल्याइदिएको छ ।


















