१५ जेठ, काठमाडौं । सरकारले कर प्रणालीमा व्यापक सुधार गर्दै भन्सार दरको तहलाई कटौती गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यसअघि ११ तहमा रहेको भन्सार दरलाई घटाएर ७ तहमा मात्र सीमित गरिएको घोषणा गरेका छन् । कर प्रणालीलाई सरल र पारदर्शी बनाउने उद्देश्यसहित ल्याइएको यो परिवर्तनले व्यावसायिक वातावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यसैगरी, कर प्रशासनलाई दण्डात्मक नभई विकासको सहयात्री बनाउने नीति सरकारले लिएको अर्थमन्त्री वाग्लेले स्पष्ट पारेका छन् । राहतको अर्को महत्वपूर्ण घोषणाका रूपमा सरकारले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्कसमेत खारेज गरेको छ ।
मुलुकको अर्थतन्त्र बृहत् सुधारको निर्णायक मोडमा रहेको उल्लेख गर्दै उनले वर्तमान आर्थिक चुनौतीहरूलाई अवसरमा बदल्ने उद्देश्यका साथ कर संरचनामा यो साहसी परिवर्तन गरिएको जानकारी दिए ।


















