२७ असार,काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) ले अधिकृत बोहोरामाथि मोबिल छर्केर दुर्व्यवहार गरेका हुन् ।
पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको आरोप लगाउँदै वडा सदस्य बुढाथोकीले शिक्षा अधिकृत बोहोराको शरीरमा मोबिल खन्याएका हुन् । बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन सार्न दबाब दिँदै आए पनि बोहोराले उक्त दबाब अस्वीकार गरेपछि यो घटना भएको बुझिएको छ ।
वडा सदस्य बुढाथोकी आफैंले यस घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । भिडियोमा मोटरसाइकलमा सवार रहेका शिक्षा अधिकृत बोहोरालाई हेलमेट माथिबाटै मोबिल खन्याइएको देखिन्छ ।
घटना लगतै दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङले खोजी कार्य तीव्र पारे पनि हालसम्म उनलाई नियन्त्रणमा लिन सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



















